जनप्रतिनिधिको दुईबर्षको समीक्षा गरौं
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको ठ्याक्कै दुईबर्ष पूरा भएको छ । जनप्रतिनिधि खालि भएको करिब २० बर्षपछि २०७४ सालको जेठमा निर्वाचित जनप्रतिनिधि आएका थिए । उनीहरुले काम गरेको अहिले दुईबर्ष पुगेको छ ।
बारपाक सुलीकोट गाउँपालिकाले दुई बर्ष पुगेको अवसरमा समीक्षा कार्यक्रम गर्यो । समीक्षामा छलफल बिभिन्न तर्क, बितर्कहरु भए । सबै स्थानीय तहले यस्तै समीक्षा गर्न जरुरी छ । जनताको अपेक्षा के थियो, दुईबर्षको अवधिमा के कति पाए, के पाउन सकेनन् । किन पाएनन् ? अब कहिले उनीहरुको चाहना पूरा हुन्छ कि पूरा हुदैन ? सबैको बारेमा समीक्षा जरुरी छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिन जनतामाझ जाँदा उनीहरुले सार्वजनिक गरेको घोषणा पत्रमा के के कुरा उल्लेख थियो ? तीमध्य कति पूरा गरे ? कति पूरा गर्न सकेनन् ? किन सकेनन् ? यस्ता बिषय मा समीक्षा गर्नु जरुरी छ ।
अब जनप्रतिनिधिसंग तीनबर्ष बाँकी छ । बिगत दुईबर्षको समीक्षा गरेमा बाँकी तीनबर्षलाई थप फलदायी बनाउन सजिलो हुनेछ । त्यसैले पनि दुईबर्षे कार्यकालको समीक्षा गर्नु जरुरी छ ।
कतिपय स्थानीय तहले समय बिताइरहेको मात्र पनि पाइएको छ । कतिपयले प्राय गाउँपालिकै नटेकेको, कतिपयले गफ धेरै काम न्यून गरेको, कतिपयले महत्वकांक्षा संगसंगै काम पनि गरेको, कतिपयले लो प्रोफाइलमा बसेर धमाधम काम गरिरहेका पनि छन् । कतिपयले कार्यकर्तालाई मात्र खुशी बनाउने काम पनि गरेका छन् । उनीहरु सबैले गरेको काम बारे सर्बसाधारण के भन्छन् ? उनीहरुको राय सुझाव संकलन गर्न समीक्षा कार्यक्रम गर्नु उपयुक्त हुनेछ ।




