
बैशाख ८, ९ र १० गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
गोरखा सरदमुकाममा बैशाख ८, ९ र १० गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिका संयोजक अशोक गुरुङको अध्यक्षतामा केहि दिन अघि बसेको बैठकले प्रतियोगिता सम्बन्धि निर्णय गरेको हो ।
जिल्ला स्तरीय प्रतियोगिता अगावै स्थानिय तह स्तरीय प्रतियोगिता सम्पन्न गरिने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए । ‘बैशाख ६ गतेभित्र स्थानिय तहस्तरीय प्रतियोगिता हुन्छ’ उनले भने ‘स्थानिय तहस्तरीय प्रतियोगितामा पहिलो र दोस्रो भएका खेलाडी जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन्छन् ।’
स्थानिय तह स्तरमा हुने प्रतियोगिताको जिम्मेवारी स्थानिय तहलाई नै दिईएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलमा १८ बर्ष उमेर ननाघेका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । स्थानिय तथा जिल्लास्तरमा एकै किसीमका प्रतियोगिता हुनेछन् । प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका खेलमा छात्र छात्राबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
जिल्लास्तरीय खेलको सबै प्रतियोगितामा छ सय ७५ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बस्नेतले जानकारी दिए । जिल्लास्तरीय प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट दुई लाख रुपैयाँ प्राप्त भएको उनले बताए ।
तर प्रतियोगिता सम्पन्न गर्न पाचँ लाख ३१ हजार रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । अपुग रकम आन्तरीक स्रोतबाट ब्यबस्थापन गर्ने तयारी भैरहेको उपाध्यक्ष बस्नेतको भनाई छ ।




