| आइतवार, अशोज १०, २०८३

धार्चेमा चाँडै टेलिफोन सेवा सुचारु गर

धार्चेमा बिगत एकसातादेखि टेलिफोन सेवा बन्द छ । काशिगाउँमा रहेको टेलिकमको टावरमा चट्याङले हानेपछि टेलिफोन सेवा बन्द भएको हो । टेलिकम कार्यालयका अनुसार त्यहाँका केबल जलेर नष्ट भएको छ ।
निर्माणका लागि स्थानीय प्राबिधिकलाई भनिएको छ । तर स्थानीय प्राबिधिकबाट बन्न सक्ने अबस्था छैन । त्यसैले टेलिकमकै प्राबिधिक गएर मर्मत सम्भार गर्नु जरुरी छ । अहिले पहिलो पटक माछाखोलामा एसईई परीक्षा सुरु भएको छ । एसईईका लागि चुमनुब्री र धार्चेका बिभिन्न ठाउँबाट विद्यार्थी आएका छन् । तर टेलिफोन सेवा बन्द हुँदा उनीहरुलाई घरका आफन्तहरुसंग सम्बाद हुन सकेको छैन । त्यस्तै एसईईको प्रश्नपत्र सम्बन्धी तत्काल कुनै जिज्ञासा भएमा वा कुनै गल्ती भएर सच्याउनु परेमा टेलिफोन सेवा बन्द हुँदा असम्भव हुन्छ । त्यसैले पनि टेलिफोन सेवा मर्मत गर्नु अति जरुरी छ । त्यस्तै धार्चे भनेको दुर्गम ठाउँ हो । यहाँ बिभिन्न समस्याहरु परिरहन सक्छ । आकस्मिक बिरामी, सुत्केरी समस्या वा घाइते जस्ता दुर्घटना हुनसक्छ । तत्काल हेलिकोप्टर बोलाएर उपचार सेवा लिनु पर्ने हुनसक्छ । टेलिफोन सेवा सुचारु नहुँदा यसमा पनि समस्या हुनसक्छ । त्यतिमात्र होइन, टेलिफोन अबरुद्ध हुँदा धार्चे गाउँपालिकाको कार्यालयले सम्पादन गर्नुपर्ने काममा पनि बाधा ब्यबधान परेको छ । सम्बन्धित कर्मचारी छ वा छैन, कुनै काम कार्यालयबाट सम्भव छ वा छैन बुझेर मात्र कार्यालय धाउनु पर्ने अबस्थामा टेलिफोन सेवा नचल्दा स्थानीयबासीले बित्थामा दुख पाउनु पर्ने अबस्था पनि हुनसक्छ । त्यस्तै विदेशमा रहेका आफन्तहरुसंग सम्पर्क गर्न पनि कठिन भएको छ । त्यसैले त्यहाँको टावरको तत्काल मर्मत गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्