
दलभन्ज्याङमा जारी फुटवल मेलामा आइतबारबाट सेमीफाईनल चरणका खेल हुने
गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल तथा सांस्कृतिक मेला अन्तरगत आइतबारबाट सेमीफाईनल चरणका खेल हुने भएका छन् । शनिवार सम्पन्न १३ बर्ष मुनिका खेलाडीबिचको पाचौं ओसन कप फुटवल प्रतियोगिता अन्तरगत लक्ष्मी सामुदायिक शिक्षा सदन, लक्ष्मीबजार हर्ट क्लब र ड्याफोडिल बोर्डिङ काठमाण्डौ सेमिफाईनलमा प्रबेश गरेका छन् । लक्ष्मी सामुदायिकले मनकामना बोर्डिङ स्कुललाई ३– १, लक्ष्मीबजारले गोरखा जिल्ला फुटवल संघको १२ बर्ष मुनिको समुहलाई ३–२ ले र ड्याफोडिले गोरखा जिल्ला फुटवल संघ समुह बि लाई ६– ० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेका हुन् ।
३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कप अन्तरगत शनिवार भएका खेलबाट तिन समुह सेमीफाईनलमा पुगेको छ । जसअन्तरगत पहिलो खेलमा चालिसे चोक अनुपस्थित भएपछि ओसन ए स्वत सेमिफाईनल चरणमा प्रबेश गरेको छ ।
गोरखा जिल्ला फुटवल संघ एले सम्झौता क्लबलाई ३ – १ गोल अन्तरले जितेको छ । यस्तै,
पालुङटार क्लबले ओसन क्लबलाई ३ –१ ले हराउदै सेमिफाईनल पुगेका छन् ।
प्रतियोगिता अन्तरगत भोली चार खेल हुने आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । ‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ द ओसन क्लबको मुख्य आयोजनामा प्रतियोगिता भएको हो । २० गतेसम्म चल्ने दुबै प्रतियोगितामा १२ ÷१२ टीम सहभागी छन् ।




