| सोमवार, कार्तिक २३, २०८३

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए ।बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

एक–दुई फोनबाट आत्तिएर हटाएँ : पशुपति शर्मा

बैठकमा उपस्थित गायक पशुपति शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

उनले गीतका केही शब्दहरु अनुपयुक्त भएको आफूले पनि महसुस गरेको पनि बताएका छन् ।अध्यक्ष पंगेनीले पशुपतिको गीत फेरि यूट्यूबमा जस्ताको तस्तै अपलोड गर्ने निर्णय गरिएको जानकारी दिए । ‘आधिकारिक रुपमा यो गीत हटाउन कसैले भनेको छैन । त्यसैले हटाउनु आवश्यक देखिएन,’ पंगेनीले भने, ‘त्यसैले वैठकबाट उहाँलाई गीत फेरि राख्न आग्रह भएको छ । सम्भवतः राख्नुहुन्छ होला ।’

शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने बताएका छन् । पंगेनीले जनमानसमा चलिरहने कुराहरुलाई लिएर पशुपतिले गीत बनाएको भन्दै यसमा आपत्ति जनाउने विषय नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्