
तस्करीको ३३ किलो सुन प्रकरणका अभियुक्त श्यामकृष्ण श्रेष्ठलाई १४ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
मंगलबार उनीविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ। तस्करीको ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनीमाथि अख्तियारले छानबिन गरेको थियो।
अख्तियारका अनुसार उनको वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रूपैयाँ छ। तर उनले विभिन्न ठाउँमा गरेको लगानी र खर्च जोड्दा उनको सम्पत्ति १९ करोड ७४ लाख ५५ हजार ८ हजार १६ रूपैयाँ देखिएको थियो। वैधानिक रकम घटाउँदा उनको स्रोत नखुलेको सम्पत्ति १० करोड ११ लाख हुन्छ। तर अख्तियारले भने स्रोत नखुलेको सम्पत्तिबाट ४ करोड बढीबढाउ रकमलाई पनि स्रोत नखुलेको भन्दै १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०५३ सालमा सरकारी सेवा प्रवेश गरेपछिको उनको सम्पत्ति अनुसन्धान र विश्लेषण गरी अख्तियारले उनी माथि भ्रष्टाचार मुद्दा लगाएको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा २० बमोजिम २ वर्षसम्म कैद र १४ करोड नै जरिवाना तिराउनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ। त्यस्तै १४ करोड ६१ लाख रूपैयाँ बराबरको सम्पत्ति उनी, उनको परिवार र आफन्तबाट जफत गर्न पनि अख्तियारले भनेको छ।
यसरी विगो जफत गरेपछि त्यति नै जरिवाना पनि तिराउनुपर्ने अख्तियारको माग छ। उक्त सम्पत्ति जफत गर्नकै लागि भनेर अख्तियारले उनका बुवाआमा, दुवैजना श्रीमती, भाइ र भाइबुहारीलाई पनि अख्तियारले श्रेष्ठको मुद्दाका प्रतिवादी बनाएको छ।
‘चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, भाइबुहारी रविना प्रधानाङ्ग, श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ।




