| शुक्रबार, अशोज ८, २०८३

नाङ्लो मात्र नठटाऊ कारबाही गरेर देखाऊ

यसअघिको कार्याकालमा प्रधानमन्त्री हुँदा बहालवाला प्रधानमन्त्री केपी वलीले दुईबर्षभित्र बारपाकसम्म सडक कालोपत्रे गर्छु भनेर आश्वासन दिएका थिए । दुईबर्ष बित्यो, उनी अर्को पटक प्रधानमन्त्री बनिसके तर बारपाक सडक अझै कालोपत्रे भएको छैन ।
सो सडकखण्ड कालोपत्रे गर्न चार प्याकेजमा टेण्डर गरिएको थियो । उनीहरुले भन्दा धेरै पछि काम थालेको जाइकाले पाँचवटा पुल निर्माण गरेर हस्तान्तरण समेत गरिसक्यो तर सडक कालोपत्रे गर्ने जिम्मा लिएका निकम्मा ठेकेदारहरुले काम अलपत्र पारे ।
अलपत्र पार्ने मध्यको एक पहिलो प्याकेजको जिम्मा लिएको नागार्जुन, त्रिशुली जेभी हो । निर्धारित समयमा काम नभ्याएपछि म्याद थप गर्न समेत नआई उ सम्पर्कबिहिन भयो । अतिसार भएपछि बारपाक सडक योजना कार्यालयले उसलाई सम्पर्कमा आउन तीन दिने अल्टिमेटम दिएको छ । तीनदिनभित्र आउला, नआउला हेर्न बाँकी नै छ ।
आयो भने उसलाई काम गर्न बाध्य पार्ने बिभिन्न बिधि अपनाउनु पर्छ । आएन भने उसको फर्मलाई कालोसूचीमा राख्न हिच्किचाउनु हुदैन ।
अहिलेसम्मको अभ्यास भनेको राष्टिूय पत्रिकामा नाम प्रकाशित गर्ने, सम्पर्कमा बोलाउने, काम गर्न अनुरोध, आग्रह गर्ने पठाउनेसम्मको हो । त्यो भन्दा माथिल्लो तहको कारबाही गरेको रेकर्ड छैन । त्यसैले ठेकेदारहरु त्यतिसम्मको प्रक्रियाका लागि पूर्व तयारी भएर बसेका हुन्छन् । प्रक्रिया पूरा हुन्छ, अध्याय सिद्धिन्छ ।
अब काम नगर्ने ठेकेदारलाई नाङ्लो ठटाउने मात्र होइन, कारबाही नै गरेर देखाउनु पर्छ । नाङ्लो मात्र ठटाउँदा ठेकेदारले कारबाही गर्ने निकायको अकार, साइज, तौल सबै नापिसक्छन् अनि दाह्रा, नङ्ग्रा झिकेको बाघ, भालुसंग जस्तै निर्भय अटेरी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्