| शुक्रबार, अशोज ८, २०८३

सडक निर्माणमा ढिलाई नगर

गोरखा सदरमुकामबाट ५२ किलोमिटरको दुरीमा पर्छ बारपाक । यहि सडकको १२ किलो बजारदेखि बारपाकसम्मको सडक कालोपत्रे गर्नका लागि एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले फरक फरक ठेकेदार कम्पनीमार्फत चार प्याकेजमा काम लगाएको छ । खुरु खुरु काम हुँदो हो त यतिखेर बारपाकसम्मको सडक कालोपत्रे भैसक्थ्यो । गत असार मसान्तसम्म बारपाकसम्मको सडक कालोपत्रे सक्ने लक्ष्य अहिलेसम्म अपुरै छ । हालसम्म सो सडकमा समग्रमा ५० प्रतिशतमात्रै काम सकिएको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले जनाएको छ । छिटो काम सक्न कार्यालयले फरक फरक प्याकेजमा ठेक्का लगायो । तर, ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन । सडकको पहिलो प्याकेजको ठेक्का लिएको नागार्जुन कम्पनीले सम्झौता अनुसार काम त गर्न सकेन, अलपत्र काम छाडेको नागार्जुन कार्यालयसँगको सम्पर्कमा पनि छैन ।

दोस्रो प्याकेजको काम गरेको कन्काई जेभीको काम सन्तोषजनक रहेको प्राविधिकहरु बताउँछन् । तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्शले निर्धारित समयमा काम नसकेर दोस्रो पटकसम्म ठेक्का अवधि थपेको छ । तर कामले गति लिएको छैन । सडक निर्माणका लागि आबश्यक नदिजन्य सामाग्री नपाएको बहानामा काम अलपत्र छ । अन्तिम प्याकेजको जिम्मा पाएको रसुवा एलाइट जेभीले निर्धारित समयमा काम नसकेपछि एक पटक थपिएको म्याद चैतमा सकिदैछ । उसले ५० प्रतिशत काम गर्न बाँकी छ । ठेक्का लिने र समयमा काम पुरा नगर्ने प्रवृत्तिका कारण जिल्लाका धेरैजसो विकास निर्माणका काम अपुरा छन् । यसले नागरिकको दैनिकी सहज हुन सकेको छैन । ठेकेदार कम्पनीलाई पनि घाटा छ । किनकी उनीहरुको विश्वसनियतामा कमी आएको छ । यसैले समयमै काम सकेर पुरस्कृत हुने मौका लिई आफ्नो नाम र सान बढाउन ठेकेदार पनि चुक्नु हुदैन ।

समयमै काम सम्पन्न गर्ने वातावरण बनाउन नागरिक समाज, स्थानीय बासिन्दा र सम्बन्धित निकायबाट पनि निरन्तर अनुगमन र खबरदारी आबश्यक छ । अनि, एउटा ठेक्का अलपत्र पार्नेलाई अन्यत्र ठेक्का नदिने गरि कारबाही गर्न सके विकास निर्माणका कामले गति लिने थियो कि ।

प्रतिक्रिया दिनुहोस्