
मनास्लु क्षेत्रको पर्यटन विकासमा जोड देऊ
मनास्लु क्षेत्र गोरखाको गौरव हो, पर्यटन व्यवसायमार्फत अर्थोपार्जन गर्ने स्रोत हो । यहाँ बर्सेनी दशौं हजार पर्यटक र सयौंको संख्यामा आरोही आउने गर्दछन् ।
यस क्षेत्रको पर्यटन पूर्वाधार विकास र पर्याप्त प्रचार प्रसार गर्न सके गोरखाकै अर्थतन्त्रमा राम्रो टेवा पुग्ने देखिन्छ ।
विशेषगरी यस क्षेत्रमा मनास्लु पदयात्राका लागि प्रमुख प्रवेशद्वार आरुघाट वा सोतीखोलासम्मको सडक सुधार गर्नुपर्छ । पदयात्रीलाई सहज बनाउन ट्रयाकमा रहेका पुल, बिश्रामस्थल(चौतारा) र खानेपानीका धाराहरूको मर्मतसम्भार र स्तरोन्नति आवश्यक छ ।
त्यस्तै पर्यटकहरूको आवास सुविधाका लागि होमस्टे र होटलको क्षमता वृद्धि गर्नुका साथै गुणस्तर कायम गर्नुपर्छ । शौचालय, नुहाउने ठाउँ र विद्युत् आपूर्तिको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ । पदमार्गका ठाउँ–ठाउँमा प्राथमिक उपचार केन्द्रको स्थापना गर्नुका साथै आकस्मिक उद्धारका लागि हेलिप्याडको व्यवस्था गर्नुपर्छ । सुरक्षाका लागि सूचना केन्द्र तथा पर्यटन प्रहरीको व्यवस्था पनि गर्नुपर्दछ ।
पूर्वाधार निर्माणले मात्र हुदैन । सामाजिक सञ्जाल, ट्राभल ब्लगर र युट्युबरहरूसँगको सहकार्यमा मनास्लुको सौन्दर्य र यसका विशेषताहरूलाई विश्वव्यापी रूपमा प्रचार गर्न सकिन्छ । मनास्लु हिमाल र यसको वरपरको धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनलाई एकै ठाउँमा समेटेर विभिन्न समय अवधिका आकर्षक प्याकेजहरू बनाउन सकिन्छ । अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो र मेलाहरूमा मनास्लु क्षेत्रको प्रचार गरेर विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
पर्यटन तथा पर्यटकबाट भएका फाइदाका अंशहरु स्थानीय समुदायसम्म पु¥याउनका लागि उनीहरूलाई होमस्टे व्यवस्थापन, गाइड प्रशिक्षण र हस्तकलाको उत्पादनमा संलग्न गराउनुपर्छ । प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि प्रभावकारी नीति बनाउनु र पदयात्रीहरूलाई वातावरण संरक्षणबारे सचेत गराउनुपर्छ । पर्यटकलाई कुनै झन्झट नहुने गरी पदयात्रा अनुमति प्रक्रियालाई सरल र छिटो बनाउनुपर्छ ।
यी सबै उपायहरूलाई एकीकृत रूपमा कार्यान्वयन गर्न सकेमा मनास्लु क्षेत्रको पर्यटन विकासमा ठूलो परिवर्तन आउन सक्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा र्पुयाउनुका साथै मनास्लुको गौरवलाई विश्वसामु चिनाउन मद्दत पुग्छ ।




