| आइतवार, जेष्ठ १६, २०८३

अस्पतालद्वारा धर्मप्रचार गर्नु दण्डनीय काम

छेपेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य सेवा दिने नाममा धर्म प्रचार गरेको घटनाले गत आइतबार गोरखाको वातावरण तात्यो । सामाजिक सञ्जालमा पनि यो विषयले उल्लेखनीय स्थान पायो । फलस्वरुप जिल्ला प्रशासन कार्यालय गोरखाले तत्काल अस्पताल सञ्चालकलाई झिकाई सोधपुछ ग¥यो । अस्पताल जस्तो पवित्र संस्थाले धर्म प्रचार गर्नु दण्डनीय काम हो भन्दै आगामि दिनमा यस्ता गल्ती नदोहो¥याउन सचेत गरेर छाड्यो ।

अस्पतालले धर्मप्रचार गरेर हाम्रो संवैधानिक मूल्य र सामाजिक सद्भावमाथि गम्भीर प्रश्न उठाएको छ । अस्पतालजस्तो संवेदनशील र जनविश्वासमा आधारित संस्थाले कुनै पनि धर्मको प्रचार गर्नु निन्दनीय कार्य हो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक स्वतन्त्रताको अधिकार दिएको छ । तर, यसै संविधानले कसैलाई पनि धर्म परिवर्तन गराउने वा धर्म प्रचार गर्ने कार्यलाई निषेध गरेको छ । संविधानको धारा २६ को उपधारा (३) मा स्पष्ट भनिएको छ कि, कसैले पनि कुनै एक धर्मको प्रचारप्रसार गर्ने, अर्को धर्ममा जबरजस्ती धर्म परिवर्तन गराउने वा कुनै पनि धर्मको प्रचारप्रसारमा संलग्न हुने कार्य गर्न पाइने छैन । स्वास्थ्य सेवाको बहानामा धर्म प्रचार गर्नु सिधै संविधानको उल्लङ्घन हो, जुन दण्डनीय छ ।

अस्पताल भनेको सबै जातजाति, धर्म र समुदायका मानिसले समान रूपमा सेवा पाउने पवित्र ठाउँ हो । यहाँ आउने बिरामीहरू उपचार र राहतको खोजीमा हुन्छन् । यस्तो अवस्थामा उनीहरूको कमजोर मानसिक र शारीरिक अवस्थाको फाइदा उठाएर धर्म प्रचार गर्नु मानवीय संवेदनशीलताको खण्डन हो । यसले बिरामी र स्वास्थ्यकर्मी बीचको विश्वासको सम्बन्धलाई कमजोर बनाउँछ ।

स्वास्थ्य सेवालाई कुनै धर्म वा विचारसँग जोड्नु व्यावसायिक नैतिकताको पनि विपरीत हो । अस्पतालको प्राथमिक र एकमात्र उद्देश्य बिरामीलाई उत्कृष्ट उपचार प्रदान गर्नु हो । यसको सट्टामा जब धर्म प्रचार गरिन्छ, तब अस्पतालले आफ्नो आधारभूत कर्तव्यबाट विचलित भएको मानिन्छ। यसले स्वास्थ्य क्षेत्रमाथि नै नकारात्मक असर पार्छ।
यस्ता घटनाहरूलाई बेलैमा नियन्त्रण गरिएन भने यसले समाजमा धार्मिक कटुता र द्वेष फैलाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्