
खाँचो प्रविधिमैत्री यातायात सेवाको
कुनै कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘जति छिटो यात्रा गरिन्छ, त्यति छिटो विकास हुदैछ भन्ने संकेत गर्छ ।’ गोरखाका धुले सडकलाई कालोपत्रे गर्ने सन्दर्भमा बोल्दै उनले भनेका थिए, ‘कार्य क्षेत्रमा छिटो पुग्न विकसित देशमा बुलेट ट्रेन चल्छन् ।’ इत्यादि ।
कुनै सन्दर्भमा लेखक यादव देवकोटाले भनेका थिए, ‘विकसित मुलुकका मान्छेहरु छिटो यात्रा गर्न चाहन्छन् कि, ट्रेनमा बसेर यात्रा गर्न पनि हतार गरिरहेको देखिन्छ । यस्तो देखिन्छ, हुने भए ट्रेनभित्र पनि दौडिने थिए ।’
बदलिँदो विश्व परिवेशमा यात्रा धेरै छिटो हुने जगजाहेरै छ । तर हाम्रो देशको सडक, हाम्रो देशका सवारी साधनहरुको हविगत ज्यादै करुणालाग्दो छ । जर्जर सडक, थोत्रा सवारी साधन । कच्ची सडकमा जुन गतिमा सवारी साधन घिस्रिरहेका छन्, देशको विकास पनि त्यही गतिमा घिस्रिरहेको छ ।
धेरै विकल्पहरुको प्रतिस्पर्धामा उत्तम रोज्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । सवारीका क्षेत्रमा पनि यात्रुहरु छिटो, सुविधायुक्त सवारी साधनमा, सुपथ भाडामा यात्रा गर्न चाहन्छन् । तर यहाँ यातायात साधनमा रोज्न पाउने अवसर छैन ।
समय विज्ञान र प्रविधिको छ । प्रविधिको प्रयोगले आजका नेपाली पनि धेरै सुविधा लिन उद्यत छन् । उनीहरु यात्रा पनि प्रविधिमैत्री गर्न चाहन्छन् । राज्यले व्यवस्था गरे पनि नगरे पनि अहिले पनि प्रविधिको प्रयोग गरी सवारी साधनको प्रयोग गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले यही अव्यवस्थित प्रविधिमैत्री सवारीलाई व्यवस्थित बनाउन नियमावली लागु गरेको हो, तर यसका विरुद्ध देशभरका यातायात व्यवसायीहरु आन्दोलित भएका छन् ।
यो आन्दोलन विकासका विरुद्ध हो, प्रविधिका विरुद्ध हो, समयको मागको विरुद्ध हो । अहिले बाध्य भएर सरकार झुक्ला वा नझुक्ला तर एक न एकदिन प्रविधिको जीत हुनेछ । नागरिक अधिकारको जीत हुनेछ ।




