| बुधबार, असार ९, २०८३

बलिउड फिल्मसिटीबाट कलिउडले के सिकोस् ?

शिव उप्रेती ।
१६ बर्षदेखि अविछिन्न प्रदर्शन भइरहेको ‘तारक मेहताका उल्टाचस्मा’ को दौड विश्व रेकर्डतिर छ, तर कलाकार टिम, निर्देशक, छाँयाकार, प्रोडुसरहरुको दौड भने छिनछिनमा ओततिर छ । बलिउड चित्रनगरमा सुटिङ भइरहँदा छिनछिनमै बर्सिने बारिसले लखेटेपछि उनीहरुको दौड ओततिर हुनु स्वभाविकै भयो ।
मनसुनको बेला छ, कलकारहरु अभिनय गर्दागर्दै, छायाँकारहरु खिच्दाखिच्दै जब मुसलधारे बर्षा हुन्छ, उनीहरु सब काम कुरो छाडेर छिनछिनमा ओत लाग्न पुग्ने गरेको यो रिलको होइन, रियल दृश्य हो । सोनी टेलिभिजनमा प्रशारण भइरहेको ‘तारक मेहेताका उल्टाचस्मा’को ४१५१ औ इपिसोडको छायांकन चलिरहँदाको रियल दृश्य ।
साइटमा प्रोजेक्ट हेड राहुल चावडा थिए, अनि थिए निर्देशक हर्षत जोशी र धिरज पाल्सेतुकर । यति लामो टेलिश्रृङ्खला प्रस्तुत गरिसक्दा पनि उनीहरुमा थकाइ, नैराश्यको लेस थिएन । दिनकै कहिले बारिसले, कहिले पसिनाले निथ्रुक्कै भिज्दै खटिरहेका थिए ।
केही समय खटेपछि ‘मैले नेपालमा धेरै गरेँ’ भनेर आत्मागान गर्ने, ‘सँधै कसरी खट्न सकिन्छ ?’ भनेर अहम देखाउने, ‘जति खटे पनि नेपालमा कसैले मूल्यांकन गर्ने होइन क्यारे’ भनेर घुर्की लगाउने लघुप्रवृत्तिलाई उल्टाचस्मा युनिटको खटाइले पाठ पढाइरहेको छ ।
मिलेर सफलता पाइरहँदा विभिन्न निच स्वार्थ अंकुरणले फुटको भाँडमा गएर तहसनहस हुने यताको प्रवृत्तिलाई पनि १६ बर्षसम्मको उल्टाचस्माको मेलमिलापले सन्देश दिइरहेको छ ।
१६ बर्षदेखि हरदिन सुटिङ भइरहेको तारक मेहताका उल्टाचस्मा मात्र होइन, मुम्बइको बलिउड चित्र नगरीमा भारतीय ९० प्रतिशत सिनेमा निर्माण हुन्छन् । फिल्म निर्माणकै लागि यहाँको ५२१ हेक्टर क्षेत्रफलको पहाडी जंगल संरक्षण गरिएको छ ।
जंगलभित्र १६ वटा अत्याधुनिक प्रविधिका स्टुडियो छन् । १७ वटा ‘आउट स्टुडियो’ छन् । जुनकुनै फिल्म निर्माणका लागि इनडोर स्टुडियो र आउटडोर स्टुडियो पर्याप्त छन् । त्यसैले भारतीय बजारका ९० प्रतिशत सिनेमा यिनै स्टुडियोभित्रै बन्छन् । विभिन्न खालका दृश्य छायांकनका लागि धेरै ठाउँ चाहार्नु पर्दैन । जति धेरै ठाउँ चाहारे त्यति धेरै धेरै खर्च हुन्छ । एकै ठाउँमा बहुदृश्य छायांकनको सुविधा पाइनेहुँदा बलिउड फिल्मसिटी बहुउपयोगी छ । एकै ठाउँमा धेरै खालका दृष्य छायांकन गर्न मिल्ने गरी यहाँ इन्डोर र आउटडोर स्टुडियोहरु निर्माण गरिएका हुन् ।
बलिउडको फिल्मसिटीलाई हर सुविधा सम्पन्न बनाउन केन्द्र सरकार र महाराष्ट्र राज्य सरकार तल्लीन छ । त्यहाँ महाराष्ट्र फिल्म स्टेज एण्ड कल्चरल डेभलपमेण्ट कर्पोरेशन लिमिटेड गठन गरी राज्य सरकारले विकासको काम गरिरहेको छ ।
कर्पोरेशनको कार्यालयको मुख्यद्वारमा हिन्दी सिनेमाका जनक दादासाहेब फाल्केको पूर्ण कदको सालिक निर्माण गरिएको छ । उनको १३५ औँ स्मृति दिवसको अवसरमा सन् २००४ मा सरकारले पूर्ण कदको सालिक स्थापना गरी उनको सम्मान गरेको हो ।
कर्पोरेशनले बलिउड हिललाई बहु उद्देश्यीय फिल्मसिटीका रुपमा विकास गरेको छ । यहाँ घाँस दाउरा गर्ने भीरपाखाको दृश्यदेखि अत्याधुनिक सुविधासम्पन्न सपिङमलको दृश्यसम्म छायाँङ्कन गर्न मिल्ने पूर्वाधार निर्माण गरिएको छ । के गाउँबस्ती, विश्वका अति विकसित मुलुकका सहरका दृश्य सबै यहीँ निर्माण भएका छन् । के हुलाक घर, के विद्यालय, के मन्दिर एकै ठाउँमा छायांकन गर्न सकिने संरचना चित्रनगरीभित्र पाइन्छ । नदी, खोला, समुद्र, काठेपुल, झोलुंगे पुल, मोटरेबल पुल, चौर, चौतारा, हिमाली, पहाडी, समथर ठाउँको दृश्य एकै ठाउँमा छायाँकन गर्न मिल्ने पूर्वाधार बलिउड फिल्मसिटीमा उपलब्ध छ । एउटै संरचनालाई आवश्यकताअनुसार रंगरोगन गरी थरीथरी दृश्यांकन गर्न मिल्ने विधि, प्रविधि यहाँ अपनाउने गरिन्छ ।
बलिउड फिल्मसिटीमा फिल्म सुटिङ मात्र होइन, पर्यटकको पनि ओइरो लाग्ने गर्दछ । पर्यटकलाई टिकट शुल्क लिएर गाइडको प्रवन्ध गरी घुमाउने पनि गरिन्छ ।
यस क्षेत्रको सुरक्षा बन्दोबस्तका लागि सरकारले सेना, प्रहरी पनि खटाएको छ ।
नेपाल सरकारले पनि यहाँका पालुङ्टार लगायतका धेरै सहरलाई फिल्मसिटीका रुपमा विकास गर्ने भनेर बजेट भाषण गर्दा घोषणा गर्ने गर्दछ, तर राजनीतिक स्थिरताको अभावले यी घोषणा घोषणामै सीमित छन् । बलिउड फिल्मसिटीबाट पाठ सिकेर नेपालमा पनि कलिउड फिल्म सिटी निर्माण गरे यहाँको सिनेमा उद्योगको विकासको जग बस्नेथियो ।

प्रतिक्रिया दिनुहोस्