किन हुँदैन बजार अनुगमन !
कोरोनाको त्रासले काम बिहिन भएर घरमा सबेका सर्वसाधारणको भान्सा दैनिक महँगो हुँदै गएको छ । चिनी, तेल, फलफुल, तरकारीको माग बढेसँगै उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ । तर यो पहिलो पटक र नौलो होईन ।
चाडपर्व होस् या कोरोना जस्तै बिपद्का बेला होस् । सर्वसाधारण नागरिकले अफ्ठ्यारो समयमा सस्ती खेप्दै आएका छन् ।
चाडबाडका बेला र अन्य समान्य समयमा बजार अनुगमन भन्दै स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय अन्र्तगतको जिल्ला अनुगमन समितिले बजारको निग्रानी गथ्र्यो । मूल्य बढी लिएर बिक्री गरे नगरेको, म्याद नाघेका बस्तुहरु बिक्री भए नभएको पनि चेकजाँच हुन्थ्यो । स्थानीय तह, जिल्ला प्रशासन र जिल्ला अनुगमन समितिले ब्यापारी ब्यवशायीलाई कारवाही सम्म गरेका घटना यहाँ छ । कतिपय बेला म्याद गुज्रिएका सामग्री नष्ट समेत गरिएको थियो । अभावका नाउँमा अहिले गाउँगाउँमा म्याद नाघेका खाद्यान्न पुगेका छन्, त्यो पनि मूल्य बढेर ।
के अहिले एकाएक गोरखाको बजार सुध्रिएर अनुगमन गर्न छाडिएको हो ? कि अनुगमनका यी संयन्त्रलाई कोरोना महामारीका बेला महँगो भए पनि होस् भन्ने लागेको हो ! दोस्रो लहरको कोरोना आउनु अघि र हिजोआज बजारमा चिनी, चामल, तेल, तरकारी, फलफुलको मूल्य कति फरक छ अनुगमनकर्तालाई थाहा छ ? घर भित्रै बस्नु बाहिर नहिड्नु भनेर जारी गरेको निर्देशन पालना गरेका सर्वसाधारणले बिहान बेलुकी खानु पर्दैन ।
सबै बन्द गरेर घर बस्नु परेका बेला भान्सा दिनदिनै महँगो हुँदा पनि अधिकार पाएका अनुगमन गर्ने निकाय किन कानमा तेल हालेर बसेको होलान् । बिपत्तीका बेला कालोबजारी गर्ने, भाडा बढेको, कम्पनीले बढाएको बाहना बनाउनेलाई कारवाही गर्नु पर्छ । एकाएक किन भाडा बढ्यो, कम्पनीले किन दररेट बढायो ? त्यो कम्पनीको उत्पादनलाई जफत गर्न, कारवाहीका लागि सरकारलाई सिफारिस गर्न पनि जिल्ला प्रशासन कार्यालयले सक्छ । यी काम किन भएका छैनन् भन्ने प्रश्न आम सर्वसाधारणको मनमा उब्जिएको छ । बेवास्था गर्ने परिपार्टीले कालोबजारी गर्नेलाई प्रसय मिल्दै जानेछ । कडाखालको अनुगमनमा ढिला नगरौँ ।




