अस्पतालमा ओपिडी सेवा, क्याम्पसको आइसोलेशनमा कोरोनाका बिरामीको उपचार गरौं
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कमाण्डपोष्ट, सिसिएमसी, स्थानीय तहहरुको बैठकले गोरखा क्याम्पसमा एकसय शैयाको आइसोलेशन निर्माण गर्ने निर्णय ग¥यो । बनाउँदै जाँदा लक्षित क्षमताको आइसोलेशन बनाउन समर्थ भएन । त्यसैले ७६ शैयाको आइसोलेशन बन्यो । त्यसलाई आवश्यक पूर्वाधार व्यवस्थापन भयो ।
केही समयअघिसम्म त्यहाँ संक्रमितहरुलाई राखियो । बिभिन्न पालिकाका करिब चार दर्जन संक्रमित त्यहाँ रहे । सफल उपचारपछि उनीहरु घर फर्किए ।
त्यसपछि सो आइसोलेशन रित्तो छ । अहिले गोरखा अस्पतालमा रहेको आइसोलेशनमा संक्रमितहरु छन् । संक्रमितको संख्या न्यून हुदै गएपछि गोरखा अस्पतालले ओपिडि सेवा सञ्चालन गरी बिभिन्न स्वास्थ्य सेवा सुचारु गरिसकेको छ । तर पुन संक्रमितको संख्या बढ्न थाल्यो । अहिले संक्रमितहरुलाई धमाधम गोरखा अस्पतालमा रहेको आइसोलेशनमा राख्न थालिएको छ ।
क्याम्पसको आइसोलेशनमा कोरोना संक्रमित राखेर अस्पतालमा अन्य स्वास्थ्य उपचार सेवा सञ्चालन गरेमा दुवै आइसोलेशनको पनि सदुपयोग हुने, अन्य बिरामीले पनि स्वास्थ्य सेवा पाउने बिकल्प हुँदाहुदै कोरोना बिरामी पनि अस्पतालमै राख्दा अन्य बिरामी सेवा लिन जान डराउने अबस्था छ । उनीहरु महंगो खर्च गरी निजी अस्पताल क्लिनिक, मेडिकलतिर धाउन बाध्य छन् ।
अहिले बिहिबार र शुक्रबार सम्पन्न बैठकले गोरखा क्याम्पसको आइसोलेशन पनि गोरखा अस्पतालकै माताहत रहने गरी सञ्चालन गर्ने निर्णय गरेको छ । यो अबस्थामा अबका संक्रमितहरुलाई क्याम्पसको आइसोलेनमा लगी उपचार गर्नु व्यवहारिक हुन्छ । यसतर्फ सबैको ध्यान पुग्नु जरुरी छ ।




