
सीमा बैठक धमाधम, जिल्ला प्रशासन अनभिज्ञ !
गत अगस्ट १९ मा रुइला नाकाको बिषयमा छलफल गर्न चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का जनप्रतिनिधि र तिब्बती अधिकृतहरुको बैठक सम्पन्न भयो ।
बैठकले महत्वपूर्ण निर्णयहरु ग¥यो ।आउँदो बर्षदेखि रुइला नाका सँधैका लागि खुल्ला गर्ने, सीमा बजारमा निर्माणाधीन टूेड हाउस निर्माण सम्पन्न भइसकेपछि सीमावर्ती गोरखाका गाउँलेहरुलाई बाह्रै महिना व्यापारिक सेवा दिने, कोङदाङको सरकारी अस्पतालमा तिब्बती नागरिक सरह सीमावर्ती गाउँका बिरामीलाई उपचार सेवा दिने, अर्को बर्ष सामागाउँमा दुई देश स्तरीय बैठक गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु भए ।
त्यसको एक महिनापछि गत सेप्टेम्बर १९ मा जोङ्गा जिल्ला सदरमुकाममा चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का जनप्रतिनिधि र जिलुङ प्रान्त तथा जोङ्गा जिल्ला स्तरका अधिकारीहरुको बैठक सम्पन्न भयो । यो बैठकले यसअघि बाह्रै महिना खुल्ला भएको मुलाढाजेन नाका अक्टोबर १० सम्म बन्द गर्ने निर्णय ग¥यो । यसअघि सो नाका बाह्रै महिना खुलाउने बिषयमा पनि स्थानीयस्तरकै बैठकले निर्णय गरेको थियो । त्यस्तै जोङ्गा सहरको अस्पतालमा सीमावर्ती गाउँका बिरामीलाई तिब्बती नागरिकलाई सरह उपचार सेवा दिने निर्णय गरेको छ ।
यस्ता महत्वपूर्ण निर्णय भइरहेका छन् तर गोरखा सदरमुकाम यस बारेमा अनभिज्ञ छ । यस बारेमा कसले चासो लिने हो ? के कमजोरी भयो, कहाँ कमजोरी भयो ? विश्लेषण गर्नु जरुरी छ ।




