अनि रहन्न जमीन बाँझो
जनशक्तिको अभाव लगायतका कारण पछिल्लो समय खेतीयोग्य जमीन बाँझिने क्रम बढेको छ । एकातिर दैनिक उपभोग्य कृषि उपजको ठूलो हिस्सा विदेशबाट आयात हुने गरेको छ, तर आफ्नै देशको खेतीयोग्य जमीन बाँझो छ ।
गाऊँघरका मान्छेको शहरतिर बसाईसराई बढेसँगै उनीहरुको गाऊँमा रहेको जमीन बाँझिनुलाई स्वाभाविक मान्न सकिएला । तर गाऊँमै बसोबास गर्नेहरुको पनि घरमुन्तिरको खेतबारी बाँझो रहनुलाई भने स्वाभाविक मान्न सकिँदैन ।
हुन त, खेतीपातीको कामका लागि गाऊँघरमा जनशक्तिको अभाव छ । तर श्रमशक्तिको अभावकै कारण खेतीयोग्य जमीन बाँझो रहन्छ भन्ने तर्कलाई कमजोर बनाइदिएका छन्, गोरखा नगरपालीका ८ कट्टेलडाँडाका युवाहरुले । विभिन्न पेशा ब्यवसायका क्रममा आफ्नो थातथलो बाहिर पुगेका युवाहरुले सामुहिक रुपमा थालेको खेतीपातीको अभ्यास अरुका लागि पनि सिकाईको अवसर हुन सक्छ ।
विदेशै गएकाहरुको त कुरा बेग्लै भयो, तर पेशा ब्यवसायका क्रममा गाऊँघरबाट केही पर पुगेकाहरुले भने जमीन बाँझो राख्दिँन भन्ने अठोट गर्ने हो भने सकिन्छ भन्ने उदाहरण कट्टेलडाँडाका युवाहरुले देखाएका छन् । झन् त्यसलाई सामुहिक खेतीका रुपमा विकास गर्न सके त झनै राम्रो भैहाल्यो । हुन त पछिल्लो समय प्रदेश र संघीय सरकारले जमीन बाँझो राख्नेलाई जरिवाना गराउने गरि कानून निर्माण गरिरहेका छन् । कानूनै बनाएर वाध्य पानु अलग्गै कुरा भयो, तर गाऊँ बाहिर रहेका युवालाई आंशिक रुपमै खेतीपातीको काममा लगाउने हो भने चाहिँ स्थानीय सरकारले युवा आकर्षणका कार्यक्रमहरु पनि ल्याउनुपर्छ ।




