सबै सामुदायिक विद्यालयले खाजा कार्यक्रम अपनाउने कि ?
सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जानु देशभरका सबै विद्यालयको साझा समस्या हो । गाउँबाट बढ्दो बसाइँसराई र बोर्डिङमोहका कारण सामुदायिक विद्यालयहरु बर्षेनी रित्तिदै गएका छन् । सरकारले वा बिभिन्न दातृ निकायको करोडौं रुपैया खर्च गरेर बनाइएका भीमकाय विद्यालय भवनहरु भूतबंगला जस्ता देखिन थालेका छन् ।
समस्या बढ्दै गएपछि शहीद लखन गाउँपालिका ९ रामभञ्ज्याङको एक विद्यालयले भने विद्यार्थी आकर्षण गर्न नयाँ उपाय अपनाएको छ । आफ्नै विद्यालय भवनको आँगन हुदै अन्यत्र पढ्न जाने विद्यार्थीलाई आफ्नै विद्यालयमा भित्र्याउन सो विद्यालयले चारबर्षदेखि खाजा कार्यक्रम लागु ग¥यो । खाजा कार्यक्रम प्रभावकारी भएको र फलस्वरुप विद्यार्थीहरु भर्ना हुने र बिचैमा नछोडी पढ्ने गरेका शिक्षकहरु बताउँछन् ।
३५ घरधुरी रहेको रामभञ्ज्याङको सो विद्यालयमा अहिले ५० जना विद्यार्थी पढ्छन् । उनीहरु नियमित विद्यालय आउने, १० बजेदेखि चारबजेसम्म बसेर पढ्ने गर्छन् । उनीहरुमध्य पनि १५ जना विद्यार्थीलाई विद्यालयले बार्षिक १२ हजार रुपैंयाका दरले छात्रवृत्ति दिने गरेको छ ।
बरु विद्यालयमा रहेको वाल उद्यानमा खेल्न पाएपछि चारबजेपछि पनि घरमा नगै विद्यालयमै खेलिरहने गर्छन् ।खाजा कार्यक्रम तथा वाल उद्यानका लागि किण्डर हेल्फे नामक संस्थाले सहयोग गरेको हो ।
भीमसेन आधारभूत विद्यालयले जस्तै बिभिन्न दातृ निकायसंग समन्वय गरेर अन्य विद्यालयले पनि खाजा कार्यक्रम, छात्रवृत्ति तथा भौतिक पूर्वाधार निर्माण गरेमा विद्यार्थीहरु निश्चित रुपमा सामुदायिक विद्यालयमा आकर्षित हुनेछन् । दातृ संस्था नपाएमा गाउँपालिका वा नगरपालिकाले पनि यस्ता कार्यक्रममा सहयोग गर्नु मनासिब हुनेछ ।




