| आइतवार, अशोज १०, २०८३

कसले सुन्ने हो रामेको डिहीका कुमालको समस्या ?

पालुङ्टार नगरपालिका ६ पौवाटार नजिकै रहेको रामेको डिहीमा करिब आठ नौ घर कुमाल समुदाय बस्छन् । उनीहरु सबै सुकुम्बासी हुन् ।
सो जग्गा बन्दीपुरे साहुको हो । बन्दीपुरे साहुले १०९७ सालमा अहिलेका कुमाल समुदायका दुईजना पुर्खालाई सो जग्गा कुर्न एवं खेती गर्न बाँधाको रुपमा उनीहरुका पुर्खालाई त्यहाँ ल्याएका थिए । पछि जग्गा नै उनीहरुलाई छाडेर बन्दीपुरे साहुहरु व्यापार ब्यबसायमा लागे । जग्गाको आयस्ता लिन पनि आएनन् । अहिले प्रत्येक घर कुमाल समुदायसंग गरिखाने करिब ४० रोपनी जग्गा जमिन छ तर जग्गाको लालपूर्जा कसैसंग पनि छैन । लालपूर्जा नहुँदा बिभिन्न खालका समस्या आइपरेको उनीहरु बताउँछन् । भूकम्पले भत्किएका घर बनाउन सरकारले तीनलाख रुपियाँ अनुदान दिने गरेको छ । त्यसका लागि घडेरी भएको जग्गाको लालपूजा अनिबार्य छ तर रामेका डिहीमा बस्ने कुमालसंग लालपूर्जा छैन । त्यसैले भूकम्पको चार बर्ष लाग्दा समेत उनीहरुले घर बनाउन पाएका छैनन् । यस्ता खालका समस्या धेरै छन् उनीहरुसंग ।
लालपूर्जामा मोहीको नामको ठाउँमा उनीहरुको नाम छ तर जग्गाधनीको नाममा उनीहरुको नाम छैन । त्यसैले दुख गरेर खाँदा पनि साहुको बाँधा जस्तो अनुभूति भइरहने त्यहाँका कुमाल समुदाय बताउँछन् । लालपूर्जा बनाउनका लागि उनीहरु धेरैपटक जिल्ला सदरमुकाम धाए । साहुलाई अनुनय बिनय गरे तर अहिलेसम्म पनि उनीहरुको समस्या ज्यँका त्युँ छ । केही पर रहेको कसेरी फाँटको बिबादले गर्दा आफूहरुलाई समेत समस्या परेको कुमाल समुदाय बताउँछन् । कसेरीफाँटमा राजनीति फस्टाएको छ । तर उनीहरु यसमा राजनीति नमिसाई आफूहरुको समस्या समाधान गरिदिन उनीहरु अनुरोध गर्छन् ।

प्रतिक्रिया दिनुहोस्