स्थानीय सरकारले अवसर पाएका बेला धेरै भन्दा धेरै मौलिक काम गर्नुपर्छ
आफ्नो ठाउँ आफैले बनाउने अधिकार र जिम्मेवारी पाएपछि कुनै स्थानीय सरकारले अधिकार र जिम्मेवारीको मनमौजी प्रयोग गरेका छन् । कुनै स्थानीय तहहरु बिगतमा गाउँ विकास समिति वा गाउँ पञ्चायत जसरी चलेको थियो, त्यसरी मात्र चलेका छन् ।
आफूसंग भएको र कार्यपालिकाका अन्य पदाधिकारीसंग भएको ज्ञान, सीप, योग्यता, दक्षता, क्षमताको प्रयोग गरी नयाँ नयाँ काम गरिरहेका छन् । यस्ता अनगिन्ती उदाहरणहरु छन्, जसमध्य कतिपय मिडियामा आएका छन् कतिपय आएका छैनन् ।
सिर्जनात्मक काम गर्ने स्थानीय सरकारमध्य एक हो, सहिद लखन गाउँपालिका । अहिले सो गाउँपालिकाले एक माध्यमिक विद्यालय, एक सीप कार्यक्रम लागु गरेको छ । हालैको हिउँदे अधिवेशनले सो सम्बन्धी विधेयक पारित गरेको छ । अब त्यससम्बन्धी कार्यविधि बनाएर लागु गर्ने तयारीमा गाउँपालिका छ ।
यस कार्यक्रमले माध्यमिक तह उतीर्ण गरेर बाहिर आएपछि हरेक विद्यार्थीले एक न एक सीप सिकेर आउनेछ र यति उच्च शिक्षा पढ्न सकेन भने पनि मावितहमा सिकेको ज्ञान र सीप प्रयोग गरी आफ्नो जीवन गुजारा गर्न सक्ने गाउँपालिकाको अपेक्षा छ ।
गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाले पनि बिभिन्न मौलिक खालका कार्यक्रम लागु गरेका छन् । सिरानचोक गाउँपालिकाले ऐतिहासिक अमरसिँह थापाको इतिहासको उत्खनन गर्दैछ । भीमसेनथापा गाउँपालिकाले उज्यालो भीमसेन थापा गाउँपालिका अभियान सञ्चालन गरेको छ । धार्चेले पनि बिभिन्न खाले मौलिक खालका काम गरेको बारे चर्चा चलिरहेको छ ।
आफूले गरेको कामले आफ्नै मूल्यांकन हुन्छ । त्यसैले काम गर्ने मौका पाएका बेला अर्को बर्षलाई नपर्खीकन नयाँ नयाँ कामको थालनी गरिहाल्नु पर्छ । अवसर घरीघरी आउँदैन । अवसर पाएका बेला काम गरेर देखाउनु पर्छ ।




