टुक्रे योजना काटेर ठूला योजनामा लगानी बढाऊ
गोरखाका दुर्गम गाउँमा गत बुधबार दुईवटा घटना भए, एउटा सुखद, अर्को दुखद । चुमनुब्री गाउँपालिका १ मा घरकै भ¥याङबाट लडेका एकजनाले उपचारका लागि दुईदिनसम्म हेलिकोप्टर कुर्दा नपाएपछि ज्यान गयो । बुधबार नै धार्चे गाउँपालिका ६ काशिगाउँमा सडक सञ्जाल जोडियो । गाडी पुगेपछि गाउँलेहरु हर्ष बिभोर भए ।
अब सडक पुग्न बाँकी सिंगै चुमनुब्री गाउँपालिका छ र धार्चेको उहिया र केरौंजा छ । धार्चेले साना टुक्रे योजना काटेर साबिकका गाविसको केन्द्र पुग्ने गरी सडक निर्माण गर्नुपर्छ । कार्यकर्ता पाल्ने पोस्ने साना योजना कनिका छरे झैं छर्न बन्द गर्नुपछ । र अबको ठूलो शीर्षकको बजेट उहिया र केरौंजा सडकका लागि बिनियोजन हुनुपर्छ । चुमनुब्रीले पनि बजेट सडक केन्द्री बनाउनु पर्छ । प्रदेश सरकारले चुमनुब्रीमा सडक शीर्षकमा छ करोड बिनियोजन गरेको छ । जसमध्य रुईला नाकाबाट नाम्रुङसम्मको सडकका लागि ४ करोड र चुमतर्फ खर्च गर्ने गरी दुई करोड । तर अहिलेसम्म सडकका लागि भनेर गाउँपालिकाले बजेट बिनियोजन गरेको छैन । तलबाट सेनाले सडक निर्माण गर्दैछ । अब सो सडकले गाउँपालिका छुने बित्तिकै गाउँ गाउँमा मोटर जाने गरी धमाधम गाउँ–गाउँ जोड्ने सडक निर्माणका लागि बजेट बिनियोजन गर्नु वुद्धिमानी हुन्छ । तब मात्र त्यस भेगका बासिन्दाले राहत महशुस गर्नेछन् ।




