| शुक्रबार, अशोज ८, २०८३

ठगी गर्नेलाई पटक पटक फितलो कारबाही

केही महिनाअघि गोरखा बजारबाटै झोले औषधी व्यापारीहरु पक्राउ परे । औषधी व्यबसायीहरुको सूचनापछि पक्राउ परेका भारतीय नागरिकलाई अबदेखि यसरी औषधी नबेच्ने प्रतिवद्धता गराई छाडियो । यस बारेमा सडकमा चर्चा र आलोचना भयो । केही दिनअघि हरमटारी चोकबाट फेरि अर्को समूह दाँतको औषधी बेच्दै गरेको अबस्थामा पक्राउ परे । उनीहरुलाई ठगी मुद्धा लगाएर कारबाही गर्ने अबस्था हुँदाहुदै फेरि सार्बजानिक हितविरुद्धको मुद्दा दर्ता गरियो । ठगी गर्नेबिरुद्ध कडा कारबाहीको ब्यबस्था छ । तर फेरि फितलो मुद्दा दर्ता गरियो । औषधी कारोबार गर्नका लागि औषधी ब्यवस्था विभागको स्विकृति सहित आन्तरिक राजस्व कार्यालयमा दर्ता हुनुपर्ने लगायत मापदण्ड पूरा गर्नुपर्छ । झोलामा यसप्रकारको औषधी बेच्न पनि औषधी ब्यवस्था विभागले निषेध गरेको छ । उपभोक्ता हीत संरक्षण ऐन २०५४ अनुसार पनि उत्पादकले उपभोग्य वस्तुमा लेबल अनिवार्य लगाउनु पर्ने हुन्छ । ऐनको दफा ९ मा लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्वर, खाद्य पदार्थ तथा औषधी जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, मूल्य ब्याच नम्वर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भनिएको छ । तर उनीहरुले बट्टामा नक्कली स्टिकर टाँसेर ति सामग्री बिक्री गरेका थिए । उपभोक्ता संरक्षण ऐनकै दफा १० मा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नहुने उल्लेख छ । सोही दफामा कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामात्मक प्रचार प्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न नहुने भनिएको छ । कुनै वस्तुको भ्रामात्मक प्रचार गर्नेलाई ३ वर्षसम्म कैद वा ५० हजार रुपैया जरिवाना वा दुबै सजायँ हुने पनि ऐनमा छ । जिल्ला प्रहरीले भने पहिलो पटक भएकाले चेतावनी सहित सार्वजनिक हीत विरुद्धको मुद्धा चलाएको बताएको छ । एकपटक फितलो कारबाही गरेपछि यस्ता कारोबारीहरु अबैध काम गर्न हौसिन्छन् । त्यसैले कारबाहीमा सम्झौता गर्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्