खर्च गर्ने सामथ्र्य बढाऊ
पहिले पहिले विकास निर्माण गर्ने बजेट कम हुन्थ्यो र विकास हुन्थेन । अहिले उपलब्ध बजेट पनि खर्च हुन सक्दैन । बजेट भएर पनि काम गर्ने क्षमता नभएका कारण बजेट खर्च नहुनु लाजमर्दो कुरा हो । त्यही लाजमर्दो बिडम्बना भोगिरहनु परेको छ अहिले ।
आर्थिक बर्षको छ महिना बितेको छ तर अहिलेसम्म गोरखाका स्थानीय सरकार कुनैले दुई प्रतिशत मात्र खर्च गरेका छन् भने कुनैले सात प्रतशित, आठ प्रतिशत इत्यादि खर्च गरेका छन् । सबैभन्दा धेरै गण्डकी गाउँपालिकाले २५ प्रतिशत खर्च गरेको छ । सबैभन्दा धेरै खर्च गर्नेले पनि ५० प्रतिशत समय बितिसक्दा २५ प्रतिशत मात्र खर्च गरेको हो, अरुको खर्चको त परको कुरा ।
स्रोतका अनुसार तुलनात्मक रुपमा सुविधा सम्पन्न गोरखा नगरपालिकाले २० प्रतिशत विकास बजेट खर्च गरेको छ । पालुङ्टार नगरपालिकाले १४ प्रतिशत, सहिद लखनले १० प्रतिशत रकम खर्च गरेको छ । त्यस्तै भीमसेन गाउँपालिकाले ६ प्रतिशत, आरुघाट गाउँपालिकाले ५.७ प्रतिशत र धार्चे गाउँपालिकाले ५ प्रतिशत खर्च गरेको छ । त्यस्तै बारपाक सुलीकोटले पुँजीगत र चालु गरी १३ प्रतिशत मात्र खर्च गरेको जनाएको छ । अजीरकोट गाउँपालिकाले पनि जम्मा ८.५९ प्रतिशत खर्च गरेको जनाएको छ । सिरानचोक गाउँपालिकाले पनि जम्मा ७ प्रतिशत मात्र विकास बजेट खर्च गरेको जनाएको छ ।
विकास बजेट किन कम खर्च हुन्छ ? यसका कारणको बारेमा स्थानीय सरकारले गम्भीर समीक्षा गर्नु जरुरी छ । समीक्षा गरेर मात्रै पनि पुग्दैन, यसको समाधानतर्फ योजना बनाउनु पर्छ ।
प्राय जनप्रतिनिधि विकास निर्माणको काममा अनुभवी नै छन् । जनशक्ति अपुग छ भन्ने एउटा जवाफ स्थानीय सरकारसंग हुनसक्छ । एउटा मात्र कारण देखाएर बर्षेनी बजेट कम खर्च गरेर जनताको विकासप्रतिको चाहनामाथि खेलवाड गर्नुहुदैन । अपुग र कमजोर पक्षलाई पहिचान गरी ती पक्षलाई सुधार गर्दै स्थानीय सरकारहरु प्राप्त बजेटलाई अधिक खर्च गर्न सक्ने सबल बन्नुपर्छ ।




