| शुक्रबार, अशोज ८, २०८३

समयमै योजना सम्पन्न गर्न सबैको तदारुकताको खाँचो

गण्डकी प्रदेश सरकारको बजेटमा गोरखाको भिमसेन थापा गाउँपालिका १ निवेलको निवेल खानेपानी आयोजना तीन महिनामा नै निर्माण सम्पन्न भयो । ५९ लाख रुपैयाँको खानेपानी आयोजना तिन महिनामा नै निर्माण पूरा भएर प्रदेश सरकारले मंगलबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण पनि गरिसकेको छ ।
तीन महिनामै सम्पन्न भएर यो आयोजना गण्डकी प्रदेशका ११ जिल्लामा प्रदेश सरकारको लगानीमा बनेको पहिलो आयोजना बन्न सफल भएको छ । विकास निर्माणका काममा ढिलाई भएको गुनासो आइरहेका बेला सबैको जिम्मेवारीबोधले आयोजना छिटो निर्माण गर्न सकिन्छ भन्ने यो उदाहरण हुन सक्छ । छोटो अबधिमा आयोजना सम्पन्न हुनुमा सबैको सक्रियतालाई श्रेय जान्छ ।
आयोजना यथासमयमा सम्पन्न हुनुमा स्थानीय बासिन्दा बढि जिम्मेवार देखिन्छन् किनभने उनीहरु आफ्नो गाउँमा पानी ल्याउन २० दिन जनश्रमदानमा जुटे । योजना कार्यान्वयनका चरणमा उनीहरुको चासो र अनुगमन निरन्तर रह्यो । प्रदेश सरकार मातहत जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अनुगमन र प्राविधिक सहयोगमा कुनै कमी गरेन । समयमै काम भएसँगै भुक्तानी प्रक्रिया पनि छिटो भयो । सबै पक्ष बीच हातेमालो र समन्वय भएमा जुनसुकै काम पनि ब्यबस्थित रुपमा गर्न सकिन्छ भन्ने दृष्टान्त यो आयोजना बनेको छ ।
गोरखामा धेरै त्यस्ता आयोजना छन् जुन बर्षौदेखि ‘क्रोनिक’ भएर रहेका छन् । यदि स्थानीयको आवश्यकताको आधारमा योजना छनौट भएका हुन् भने सो योजना सम्पन्न गर्न स्थानीयबासी नै जिम्मेवार भएर लागिपर्छन् अनि योजना सम्पन्न हुन्छ । केही सीमित व्यक्तिहरुको पकेटको योजना हो वा कार्यकर्ता पाल्ने उद्देश्यले परेको योजना रहेछ भने काम सम्पन्न हुदैन, कार्यकर्ता पालिइरहन्छन् ।
त्यसैले आयोजना सम्पन्न गर्न स्थानीय उपभोक्ता, कर्मचारी, ठेकेदार र बजेट दिने सरकार सबैको बराबरी तदारुकता हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्