| शुक्रबार, अशोज ८, २०८३

हिउँदमै समाधान गर खानीगाउँ र श्याम्चेतको समस्या

‘हिउँद त जसोतसो कटाइयो, फेरि बर्खा आउँदैछ । फेरि कता भाग्नु पर्ने हो’, धार्चे ७ खानीगाउँबासीको चिन्ता छ, ‘सरकारले दिएको तीनलाखले बनाएको घर पनि भत्कियो । अब फेरि पाइने हो कि नपाइने हो ।’खानीगाउँका २० घरका बासिन्दा अहिले गाउँभन्दा केही माथि पखेरामा सरेर बसेका छन् । पछि पैसा तिरुँला भनेर उनीहरु अर्काको जग्गामा कसैले कच्ची र कसैले पक्की घर बनाएर बसेका छन् । पानी पर्न थालेपछि चोङकङबाट झरेको पहिरोले गाउँ बगाउन सुरु गर्छ । झमझम पानी परिरहँदा गाउँलेहरु भागाभाग हुन्छ । रातभरि सुत्न पाउँदैनन् । हिउँदको दिनरात त भीरपाखा खोस्रेर बिताएका छन्, बर्खा लागेपछि के गर्ने भन्ने प्रश्नको जवाफ उनीहरुसंग छैन ।
सरकारले बिस्थापितलाई पुनस्थापित गर्ने ठोस नीति बनाएको छैन । भूकम्प गएको चार बर्ष भयो, तर भूकम्प र त्यसपछिको पहिरोले बिस्थापित भएकाहरु आ(आफ्नै सुर गरेर ठाउँ खोजेर बसोबासको जोहो गरिरहेका छन् ।
दातालाई फकाउने बेला सरकारले बिस्थापितलाई एकीकृत बस्ती बनाउने गुलियो योजना बनाएको थियो तर अहिलेसम्म कहीँ पनि एकीकृत बस्ती निर्माण गरेको छैन । लाप्राकमा एनआरएनले निर्माण गर्दैछ । उनीहरुलाई अनुमति मात्रै दिन पनि नेपाल सरकारले झण्डै दुई बर्ष गुजा¥यो । बगुवाको लामाचौरमा मिलनबस्ती नामको एकीकृत बस्ती त बन्दैछ, त्यो पनि स्थानीयको आफ्नै पहलमा हो ।
भूकम्पका बेला करिब २२ वटा बस्तीका बासिन्दालाई अन्यत्रै स्थापित गर्नुपर्ने गुलियोबचन सुनाएको थियो । तर चार बर्ष बित्न लाग्दा समेत खानीगाउँ, मान्बुको श्यामचेत, केरौंजा जस्ता बस्तीको अबस्था ज्यूँकात्यूँ छन् । खानीगाउँ र श्यामचेतको अझै विशेष अबस्था हो । त्यसैले सरकारले कानमा तेल हालेर नबसोस् । उनीहरुलाई सुरक्षित ठाउँमा एकीकृत बनाउने योजना चाँडै बनाओस् ।

प्रतिक्रिया दिनुहोस्