पैसा तिर्दै आधार मेट्दै
प्रा. डा. बालमुकुन्द रेग्मी : नाम मात्रको आधारभूत शिक्षा स् प्राथमिक, आधारभूत, अनिवार्य जे नाम दिइए पनि त्यसले आफू जन्मेहुर्केको धरातल चिन्न, त्यसलाई माया र रक्षा गर्न नसिकाउने, आफ्ना पूर्वज र तिनले विकास गरेको सभ्यतालाई आदर र गर्व गर्दै आउँदो पुस्तासामु पस्किन नसिकाउने, आफ्नो खुट्टामा उभिएर पसिनाको कमाइ खान नसिकाउने, पराईको पाउ मोली, अरूको आँखाकान छली, चोरीलुटी खान सिकाउने र कम्तीमा अग्रजको पेसा अपनाई जीवनयापन गर्न सक्ने नबनाउने शिक्षालाई सही अर्थमा ‘शिक्षा’ मान्न सकिन्न ।
सन् १९६८ मा तान्जानियाली राष्टूपति न्येरेरेले भनेका थिए( हाम्रा शिष्यले पुरानो जमानाका मूर्ख ठानी आफ्नै बाबुआमालाई घृणा गर्छन् । हाम्रो शिक्षा प्रणालीमा तिनले आफूभन्दा ठूलाबाट कृषिसम्बन्धी महत्वपूर्ण कुरा सिक्न सक्नेतर्फ संकेत नै गरिएको छैन ।
उनीहरू जादुगरीलाई पत्याउँछन् । तर, स्थानीय घाँसका गुण जान्दैनन् । परिवारबाट के(के बार्न सिकेका हुन्छन् । तर, स्थानीय पोषिला खाना पकाउन जान्दैनन् । स्कुलमा कृषिसित असम्बन्धित ज्ञान सिक्छन् । यसरी दुवै पद्धतिका सबैभन्दा काम नलाग्ने कुरा सिक्छन् । उपनिवेशको पीडा नभोगेकाले होला, वर्तमान नेपालमा तान्जानियाको आधा शताब्दी पुरानो यो समस्याका अलावा घर र स्कुले दुवै शिक्षाले नसमेट्ने अरू पक्ष पनि छन्, राष्टिूय पहिचान, स्वाधीनता र एकताको महत्व ।
घरमा जातीय पहिचानको रटान दिइन्छ भने स्कुलमा अंग्रेजी भाषा र त्यसमार्फत पश्चिमा मान्यताको । मौखिक रूपमा मात्र प्रयोग हुने मातृभाषामा घरमा सिकेको र जबर्जस्ती सिक्नुपरेको लिखित रूपमा पनि प्रयोग हुने अंग्रेजी भाषामा स्कुलमा सिकेको कुरामध्ये ती अबोध शिष्यलाई कुनले कति र कस्तो प्रभाव पार्ने हुन्, हाम्रा भाषिक नीति(निर्माता नै जानून् । स्कुले शिक्षा नयाँ भाषामा सुरु गर्ने बच्चाको तुलनामा मातृभाषामा सुरु गर्ने बच्चाले पढाइमा सुरुदेखि पछिसम्म बढी राम्रो गर्ने गरेको युनेस्कोद्वारा सम्पादित अनुसन्धानले देखाएका छन् ।
यति मात्र हैन, मातृभाषामा दख्खल भएका बच्चाले दोस्रो र थप भाषामा पनि राम्रो गर्ने गरेको पाइएको छ । तर, भारतमा जस्तै नेपालमा पनि सबै अक्षमताको औषधिका रूपमा अंग्रेजी भाषा पस्किइँदै छ, परिणाम पनि भारतमा जस्तै बहुसंख्यक विद्यार्थी परम्परागत पढाइ, लेखाइ र गणित कुनै पनि भाषामा नजानी स्कुलबाट बाहिरिभन्छन् ।
शब्दमा होइन, भावमा अड्छ शिष्टता, लामो समयदेखि राज्यले रैतीसामु दर्साएको सक्कली रूप र आधुनिकताका नाममा विदेशी देखासिकीमा पस्किएको ‘शिक्षा’ले कलिला नानीमा नैतिकता, सामाजिक सद्भाव, पारिवारिक मर्यादा, इमानदारी, नारीप्रति सम्मान, श्रमको कदर, पापको डर, सहयोगी भावना, स्वावलम्बन, धैर्य, सहनशीलता, सकारात्मक सोचजस्ता मानव सभ्यतालाई नभई नहुने जीवनदर्शन पर्याप्त विकास गर्न नसकेको छर्लंगै छ ।
शिष्ट भाषाको खोजीमा नेपाली झर्रा शब्दको खेदो खन्ने प्रवृत्ति पुरानै हो । यौन, यौनांग, दिसापिसाब, पतिपत्नी, स्त्रीको मासिक धर्म, यौनरस, यौनरोगलगायत यौनसम्बन्धी सम्पूर्ण नेपाली शब्द खारेज ।
हुँदाहुँदै हालसम्म चलेका शब्दलाई छेउ लाउँदै तिनका स्थानमा ‘सभ्य’ अंग्रेजी शब्दलाई अघि सारिँदै छ । अंग्रेजी भाषाका टुटेफुटेका वाक्यांशद्वारा आफ्नो प्रस्तुति प्राकृतिक, संस्कृत, शिष्ट, ओजिलो र आधुनिक बनाउनेको संख्या पनि सानो छैन ।
पैसा तिरेर हाम्रो भाषामा भियाइएको पाहुना भाषाको यति प्रभाव परेको छ कि कतिले रैथाने शब्द भेट्टाउनै छाडिसके ।
उसो त अझै पनि आफूलाई सक्षम देखाउन रैथाने भाषाशिक्षक आफ्नो बोलीमा सकी(नसकी यस्तै शब्द घुसाउँदै छन्, आफ्ना बच्चालाई अंग्रेजी स्कुलमा पठाउँदै छन् र मातृभाषा बोल्यो भने सजाय दिँदै छन् । म्हःपूजा गर्नुपूर्व काग, कुकुर, गाईजस्ता पशुपक्षी पूजा गर्ने नेपालीले अहिले बाच्छाबाच्छी, बुढी गाई, कुकुर, बिराला, बुढा बाआमा र दिसापिसाबको ढल बेवारिसे अवस्थामा सडकमा छाडिदिन थालेको छ । अनि, ऊ पशु अधिकारको नाममा भुस्याहा कुकुरलाई ‘सामुदायिक कुकुर’ भन्न सिकाउँदै छ । असभ्य शब्द ‘वेश्यालय’ माथि बन्देज लगाई कुनै मुख्यमन्त्री ‘रेडलाइट एरिया’ खोल्ने प्रस्ताव राख्दै छन् ।
एकैसाथ ओडिँदैनन् घुम र छत्री स् हाल विश्वमा बोलिने अन्दाजी सात हजारमध्ये आधा भाषा आउँदो सय वर्ष्भित्र मर्ने बताइन्छ ।
अथवा भनौँ, प्रत्येक चौध दिनमा हामी एउटा भाषा गुमाउँदै छौँ । सन् २०११ को गणनाअनुसार नेपालमा १२३ भाषा बोलिन्छन् । एक लाखभन्दा बढीले बोल्ने भाषाको संख्या १९ र दश हजारभन्दा बढीले बोल्ने भाषाको संख्या ५१ छ । अधिकांश भाषा लोपोन्मुख छन् । कुनै भाषा लोप भयो भने त्यसले बोकेको इतिहास, सभ्यता र ज्ञान पनि लोप हुन्छ ।
फलतः नेपाल बौद्धिक हिसाबले गरिब बन्नेछ । कुनै समुदायले आफ्नो भाषा जोगाउन नसक्नु भनेको फेरि कहिल्यै जित्न नसक्ने गरी युद्ध हार्नु जस्तै हो । एकपल्ट मातृभाषा नरहेपछि आधुनिक हिब्रुझैँ फेरि ब्युँतिने सम्भावना निकै कम हुन्छ । नेपाल आफ्नो सम्पदा जोगाउन लागिहाल्नुपर्छ । उस्तै कुरा सिक्ने हो भने त आफ्नै छँदै छ नि, आफूले विकास गर्न नसकेको कला र सीप पो अरूसित सिक्ने त ! पैसा खर्चेर भित्र्याइएको ‘शिक्षा’को काम इतिहास मेटेर ‘हिस्टूी’ सिकाउनु हो र ?
साभार ः नयाँ पत्रिका ।




