| आइतवार, जेष्ठ १६, २०८३

मिडियाको दुरुपयोग गरी चरित्र हत्या गरेको भन्दै गोरखा १ का उम्मेद्वार खत्रीद्वारा उजुरी

सञ्चार माध्यमको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

ईमेजखबर डटकम, लालीगुराँस डटकम लगायतका सञ्चार माध्यमले आफ्नो बारेमा अनर्गत दुश्प्रचार गरी मतदातामा भ्रम सृजना गर्ने, मत प्रभावित पार्ने दुश्चेष्टा गरेको भन्दै उम्मेद्वार खत्रीले ती सञ्चार माध्यमलाई कानून बमोजिम कारबाहीको माग गरेका छन् ।

आफ्नो नेतृत्वमा रहेको एस द हिमालय ट्रेकिङ कम्पनीमाथि हालसम्म कुनै पनि निकायबाट फेक रेस्क्यु सम्बन्धमा उजुरी पनि नपरेको, कुनै खालको छानबिन पनि नभएको र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट समेत कुनै सोधपुछ नभएको दाबी गर्दै उनले बताएका छन् ।

उजुरी पत्रमा उम्मेदवार खत्रीले सम्बन्धित सञ्चार माध्यमले पत्रकार आचारसंहिता २०७३ र निर्वाचन आचारसंहिता २०८२ को ठाडो उल्लंघन गरेको उल्लेख गरेका छन् । प्रहरी वा सम्बन्धित पक्षको कुनै आधिकारिक प्रतिक्रिया बिना नै एकपक्षीय रूपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरिएको खत्रीको दाबी छ ।

खत्रीले आफ्नो मान–प्रतिष्ठा र इज्जतमा आँच पु¥याउने नियतले गरिएको यस्तो दुष्प्रचारविरुद्ध तुरुन्त आवश्यक कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपालसमक्ष माग गरेका छन् । निर्वाचनको समयमा उम्मेदवारलाई हतोत्साही बनाउन नियोजित रूपमा ल्याइएका यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगरी आफूलाई मतदान गर्न खत्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्