| आइतवार, जेष्ठ १६, २०८३

विकास निर्माणको फाइल बोकेर भोट माग्दै गण्डकीका मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अहिले हातमा फाइल बोकेर गृहजिल्ला गोरखामा चुनाव प्रचार प्रसारमा छन् । आफ्नो कार्यकालमा गरेका विकास निर्माणको प्रगति सुनाउँदै उनी कांग्रेसका उम्मेद्वार प्रकाशचन्द्र दवाडीको प्रचार प्रसारमा व्यस्त छन् ।

गोरखा २ को प्रदेश २ बाट कांग्रेसबाट निर्वाचित भएका उनी अहिले सोही क्षेत्रमा कांग्रेसका उम्मेद्वार दवाडीको चुनाव प्रचार प्रसारमा व्यस्त छन् । कांग्रेसले जे बोल्छ, त्यही गर्छ, जे गर्छ त्यही बोल्छ भन्दै आफ्नो कार्यकालको आश्वास पूरा गर्ने चरणमा रहेकाले अब पनि कांग्रेसका लागि मत दिन आग्रह गर्दै जिल्ला दौडाहामा उनी छन् ।

‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ फाइल पल्टाउँदै मुख्यमन्त्री पाण्डे भन्छन्, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै माग पूरा भएको छ । गोरखामा मात्र होइन प्रदेशभर भएको छ । कांग्रेसका प्रतिनिधिको नेतृत्वमा भएको हो, त्यसैले बाँकी काम गर्न प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुहोस् । सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस् ।’ निर्वाचन आयोगबाट अनुमति लिएर मुख्यमन्त्री पाण्डे चुनावी कार्यक्रममा सहभागी हुन गोरखा आएका थिए ।

बिगतका दुईवटा निर्वाचनमा फरक राजनीतिक परिवेशका कारण गोरखा २ मा कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा रुखमा मतदान गर्न नपाएको स्मरण गर्दै उनले भने, ‘धेरै साथीहरूको रुखमा भोट हाल्न पाइएन भन्ने गुनासो पनि अहिले हटेको छ, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी उमेदवार हुनुहुन्छ ।’

प्रदेश सरकारको नेतृत्व आफूले गरेपछि आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सडक, खानेपानी, सिंचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य लगायत सबै क्षेत्रमा विनियोजन गरेको बजेटको विस्तृत विवरण बोकेर मतदाताकहाँ पुगेका उनले काम हेरेर कांग्रेसका प्रतिनिधिलाई मत दिन अपिल गरे । ‘तपाईँले गरेको मतदानबाट मेरा क्रियाकलापका कारण कसैले पनि शिर निहुराएर हिँड्नु परेको छैन, भोलिका दिनमा पनि हिँड्नुपर्ने छैन’ उनले थपे, ‘त्यही शिर निहुराउन नपर्ने काम हाम्रा उम्मेदवार प्रकाशचन्द्र दवाडीले पनि गर्नेछन् । त्यही विश्वासका साथ रुखमा मतदान गर्नुहोस् ।’

गोरखा २ (२) बाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै भने, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ ।’ कांग्रेसका उम्मेदवारले जे बोल्छन्, त्यो गर्छन् भन्ने सन्देश दिँदै उनले थपे, ‘देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । अहिले देशको अवस्थालाई ठीक दिशा दिन पनि कांग्रेसको नेतृत्वको विकल्प छैन ।’ कांग्रेसका कुनै कार्यकर्ता पनि विचलित हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, ‘प्रत्येक कांग्रेसका साथीहरू, मतदाताहरू शिर ठाडो गरेर भनौँ ‘हरेक परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसबाट मात्र सम्भव छ ।’

आफूले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले सुशासनलाई प्रमुख मुद्दा बनाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘प्रदेशका विषयमा पनि प्रश्नहरू उठे, खर्च धेरै भयो भनेर हामीले खर्च कटौतीको काम एकवर्ष अघिदेखि थालेका थियौँ’ उनले मतदातासँग भने, ‘भदौ २३–२४ मा युवाहरूले नारा लगाउनुभन्दा पहिले नै ती नाराहरूलाई सम्बोधन गर्ने प्रयास गण्डकी प्रदेशले गरेको थियो ।’ प्रदेश सरकारले प्रशासनिक खर्च कटौती, कर्मचारी दरबन्दी कटौती, मन्त्रालय पुनर्संरचना, कार्यालय मर्ज लगायतका काम गरेर वार्षिक ५० करोड खर्च बचत गरेको उनले बताए । ‘एक दर्जन नियुक्त गर्न मिल्ने भए पनि मेरो सचिवालयमा मुख्यमन्त्री भएदेखि ३ जनामात्रै नियुक्त गरेको छु’ उनले भने, ‘काम गर्न पुग्छ भने फजुल खर्च नगरौँ भन्ने हो, यो पनि सुशासन लक्षित कदम नै हो ।’

गण्डकी प्रदेश सरकारले युवा लक्षित रोजगारी, कृषिको व्यवसायीकरण, दलित उत्थान र सशक्तीकरणका लागि ऐन निर्माण, गुरुङ–मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने जस्ता समावेशी र नागरिक उत्तरदायित्वका काम गरेको उनले बताए । युवाहरूलाई स्वरोजगार बनाउन राइड सेयरिङ नियमावली कार्यान्वयनमा जोड दिएको उनले बताए । ‘केही भएन, गरेन भन्नुभन्दा पहिले तथ्य र तथ्यांकमा के–के भयो भन्ने पनि खोजौँ, हेरौँ ।’ अस्पतालको बेड र विशेषज्ञ सेवा विस्तार, निःशुल्क र पालो कुर्नु नपर्ने डायलाइसिस सेवा प्रदेश सरकारको प्राथमिकतामा छ ।

प्रदेश सरकारले गरेका कामसँगै मुख्यमन्त्री पाण्डेले सभामा सहभागी भएकालाई अहिलेको देशको अवस्थाको पनि स्मरण गराउँथे । ‘मुलुकको वास्तविकता के हो भन्ने कुरालाई आत्मसात गरौँ । कुनै पनि पार्टीलाई मत दिनुअघि त्यो पार्टीको सिद्धान्त के हो ? त्यो पार्टीको नीति के हो ? विचार के हो ? आर्थिक दृष्टिकोण के हो ? विदेश नीति के हो ? विकास निर्माणको सन्दर्भमा ती पार्टीले विगत र वर्तमानमा के गरे ? भविष्य के हो ? ती सबै कुरा बुझेर मतदान गर्नुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । सिद्धान्त, विचार, दृष्टिकोण केही नभएका पार्टीहरू जनता झुक्याउँदै मत माग्न आएको बताउँदै उनले लहैलहैको भरमा मतदान नगर्न र खुला किताबजस्तै नीति भएको कांग्रेसलाई मतदान गर्न अपिल गरे ।

‘मसँग तपाईँको केही गुनासो छ भने सोध्नुहोस्, मलाई मात्र होइन नेपाली कांग्रेसका उम्मेदवार, पार्टीका नेतासँग केही छ भने भन्नुहोस्, हामी प्रश्नबाट भाग्दैनौँ’ उनले भने, ‘प्रश्नबाट भाग्ने, केही पनि भएन भन्ने भाष्य बनाएर झुटको खेती गर्नेसँग सचेत रहनुहोला र भन्नुहोला, के ग¥यो ? भन्न पाउने अधिकार नै नेपाली कांग्रेसले ल्याइदिएको हो ।’ विगतमा भएका कमजोरीलाई सुधार गर्दै नेपाली कांग्रेस अघि बढ्ने बताउँदै उनले देशलाई संकट परेको बेला हरेक कालखण्डमा कांग्रेसको नेतृत्वले निकास दिएको स्मरण गराए ।

नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ ले आयोजना गरेको पालिका स्तरीय चुनावी सभामा सहभागी हुन फागुन ५ गतेदेखि १० गतेसम्म गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डे गोरखामा छन् । नेपाली कांग्रेसले गोरखा २ मा प्रकाशचन्द्र दवाडी र १ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ । गोरखा १ का अगुवा नेता, कार्यकर्ता र उम्मेदवारसँग पनि उनले भेटघाट गरेर चुनावी रणनीतिबारे अन्तरक्रिया गरेका थिए । चुनावी कार्यक्रम अवधिभर पालुङटार १, खोप्लाङस्थित घरमा बसेका उनले निजी नम्बर प्लेटको सवारी साधन प्रयोग गरेर चुनावी कार्यक्रममा सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्