| आइतवार, जेष्ठ १६, २०८३

गोरखाको चुनावी प्रतिवद्धता पूरा नगरी रुकुम लागे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रुकुमपुर्व बाट चुनाव लड्ने भएका छन् । त्यसो त उनी प्रत्येक चुनावमा निर्वाचन क्षेत्र फेरिरहने व्यक्ति हुन् ।

यसअघि २०७९ मंसिर ४ को निर्वाचनमा उनी गोरखा २ बाट उठेका थिए । कांग्रेससँगको गठबन्धनमा उनले चुनाव जिते । तर चुनाव अघि उनले गरेका प्रतिवद्धता पुरा गर्न उनी असफल देखिए । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग र पालुङटार एयरपोर्ट संचालनमा ल्याउने उनको चुनावी एजेण्डा थियो । प्रत्येक भाषणमा उनले प्रतिवद्धता जनाउथे । तर चुनाव जितेर गएसँगै ती एजेण्डाहरु सेलायो । आफै प्रधानमन्त्री हुदाँ समेत रबर उद्योग र पालुङटार एयरपोर्ट संचालनका लागि उनले चासो दिएनन् ।

‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ, पालुङटार एयरपोर्टलाई पुनः संचालन गर्दै व्यवस्थित गरिनेछ,’ चुनाव लक्षित उनको प्रतिवद्धता पत्रमा उल्लेख थियो । तर चुनाव जितेसँगै यी प्रतिवद्धतालाई प्रचण्डले भुले । बुढीगण्डकी जलबिद्युत आयोजनापनि उनको चुनावी एजेण्डामध्येको एक हो । निर्माण कार्य तत्काल अघि बढाउने उनको त्यो प्रतिवद्धता बोलीमा मात्र सिमित बन्न पुग्यो । आयोजनाको अवस्था अहिले पनि उस्तै छ ।

उत्तरी गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषण गर्न पहल गर्ने समेत उनले भन्न भ्याएका थिए । तर चुनाव जिते पश्चात ती एजेण्डामा उनी प्रवेश नै गर्न चाहेनन् । गाइखुर–च्याङली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडी बढाउने उनको चुनावी एजेण्डा पनि भाषणमा मात्र सिमित बन्यो ।

चुनाव अघिका प्रतिवद्धताहरु चुनाव जितेसँगै ओझेलमा परेपछि आलोचना समेत हुन थालेको छ । त्यही क्षेत्रमा अहिले नेकपाबाट लेखनाथ न्यौपाने उठ्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्