
आउँदो चुनावमा नयाँ पुस्तालाई अघि बढाउनु उत्तम
नेपाली कांग्रेसले एकातिर संसद पुनःस्थापनाको माग पनि राखिरहेको छ भने अर्कातिर आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नामावली पनि संकलन गरिरहेको छ ।
गोरखाका लागि दुवै क्षेत्रीय समितिहरुले प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ । आइतबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले सबै आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन गरेको हो ।
क्षेत्र नं. २ बाट प्रकासचन्द्र दवाडी, दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, वेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रकाश पोखरेलले नाम दर्ता गराएका छन् । क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भूगोल थापा, राजेन्द्र बजगाईँ, युवराज बस्ताकोटी, डिल्लिराज तिमिल्सिना, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, चिनकाजी श्रेष्ठ, प्रेम खत्री, रचन परियार र इश्वर ढकालले नाम दर्ता गराएका छन् ।
समानुपातिकतर्फ अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोजप्रसाद धिताल, मनकुमारी गुरुङ, इश्वरबहादुर परियार, प्रा. सलाउद्दीन मियाँ, रविकला खनाल, ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम, सन्तबहादुर गुरुङ, रीता परियार, बिनाकुमारी श्रेष्ठ, ठिले लामा, अलिउल्लाह मियाँ, भरत भट्ट, कृष्ण आले, टीका श्रेष्ठले नाम दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रियसभा सदस्यका लागि पिताम्बर बडु, अब्दुल सतार, हरिबहादुर घले, राजनदेव भट्ट र जीवनप्रेम श्रेष्ठले नाम सूचीकृत गराएका छन् । अहिले नयाँ पुस्ताले राजनीतिमा प्रवेश गर्न इच्छा व्यक्त गरिरहेको अबस्था छ । यो बेला २०४७ सालदेखि निरन्तर चुनाव लड्दै पदको लाभ लिइरहेकालाई मात्र भन्दा पनि सबै पार्टीले नयाँ पुस्तालाई अघि बढाउने प्रयास गर्नु वुद्धिमानी हुन्छ । नयाँ पुस्ता भन्दैमा २८ बर्षमुनिका मात्र भन्न सकिँदैन ।
राजनीतिमा रुचि, क्षमता भएका, विशेष खुबी भएका तर अहिलेसम्म अवसर नपाएकालाई पनि यस परिभाषाभित्र समेट्न सकिन्छ । उनीहरुले बदलिँदो विश्व जगत बुझेर, भूराजनीति, अर्थ राजनीति, समाज राजनीति बुझेर काम गर्न सक्ने व्यक्तिलाई अघि बढाउनु उपयुक्त हुनेछ ।




