| मङ्लबार, कार्तिक ३, २०८३

६ दिनमा आरुघाटमा बेलिब्रिज तयार, यातायात सुचारू

 बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो ।

गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको छ । गत असोज २५ गतेको बूढीगण्डकीको बाढीले बगाएको पुल आज दिउसो तीनबजे मर्मत कनर्य गरिसकिएको हो ।

दशैंभित्रै सञ्चालन गर्ने उद्देश्यका साथ बेलिब्रिजको काम गरिएको गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले जनाएका छन् ।आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो।

पुल नभएर सवारी साधन नचल्दा दशैंका बेला उत्तरी गोरखा आउजाउ प्रभावित बनेको थियो। गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले पुल निर्माणको काम गरेका हुन्। ‘पुलको दुवैतर्फको जीप तयार गर्ने काम सडक योजना कार्यालयले गरेको हो । नेपाली सेनाले डेक सेटिङको काम गरेको हो’, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भने, ‘सबै कनम आज सकियो । त्यहाँ गाडी सुचारु भएको छ।’

बुढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासी आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो। ‘बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलिब्रिज जोडिएको हो, सडक योजना कार्यालय प्रमुख पुनले भने, ‘काम सम्पन्न भयो । गाडी वारिपारि गर्न थालिसके । स्थानीयबासी धेरै खुशी हुनुभएको छ।’

राती दिन कनम गरेर काम सम्पन्न भएको उनले बताए।उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसंग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्