| मङ्लबार, कार्तिक ३, २०८३

गाउँ जाने बाटो बनाउन रातदिन खट्दै स्थानीय, बाटो नखोले खाद्यान्न हाहाकार हुनसक्ने चिन्ता

उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन् ।बूढीगण्डकीको सहायक खोला स्यारखोलाको बाढीले गत असोज २५ गते बगाएको चुमनुब्री गाउँपालिका ६ स्थित तल्लोचुमको बाटो मर्मत गरी आवतजावत खुलाउन स्थानीबासी निरन्तर खटिएका हुन् ।

वडा नंबर ६ को क्याण्टीलिभर पुल बगाएको क्षेत्रदेखि गुम्लुङसम्मको खण्डमा बाढीले बिगारेको ठाउँमा गाउँलेले धमाधम बाटो बनाइरहेको कार्यवाहक वडाअध्यक्ष ठिले ग्याम्जो लामाले जानकारी दिए । क्याण्टिलिभर पुल सानोतिनो स्रोतबाट बनाउन नसकिने हुँदा अल्पकालिन समस्या समाधान गर्न सर्दी खोलाको किनारकिनारै बाटो बनाइएको उनले बताए ।

सर्दीखोला चार ठाउँमा तर्नुपर्ने हुँदा चारवठा फड्के बनाउने पनि उनले बताए । तर खोलामा पानीको सतह डूलो भएकाले फड्के बनाउन समस्या भइरहेको उनको भनाइ छ ।अहिले बनाइएको बाटो धेरै घुमाउरो र आउँदो जेठसम्मका लागि मात्र भएको अर्का स्थानीय सेराप गुरुङ बताउँछन् । अलिअलि पानी परेर जलसतह बढ्न थालेपछि सबै दुख बगाएर लैजाने उनले बताए । स्थायी समाधानका लागि कि क्याण्टिलिभर बनाउनु पर्ने कि बिस्फोट गरेर पहरोमा ट्र्याक निकाल्नु पर्ने उनको धारणाा छ ।

तयसका लागि संघ सरकारले पहल गर्नुपर्ने उनको माग छ ।यहाँको क्याण्टिलिभर पुल र बाटो स्यारखोलाले बगाइदिँदा तल्लो चुम र माथिल्लो चुम उपत्यकाका दर्जन बढी गाउँका बासिन्दाहरु नाकाबन्दीमा परेका छन् ।छिट्टै यो बाटो खुल्न सकेन भने चुम उपत्यकामा खाद्यान्नको हाहाकार हुनसक्ने वडाअध्यक्ष ठिले ग्याम्जो बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्