| बिहिबार, अशोज २८, २०८३

विद्युत सेवा यथाशीघ्र सूचारु गर

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत आयोजना बगाएको थियो ।

आयोजना बगेपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत सेवा अबरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगतमा विद्युत अवरुद्ध भएको हो ।

जसका कारण ९७१ घरधुरी प्रभावित बनेको छ । बाढीले विद्युतको १२ पोल बगाएको छ । एउटा टावर र तारहरु पनि बगाएको छ । पावर हाउस भने सुरक्षित छ । बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । बूढीगण्डकीको किनारै किनार लगिएका विद्युतका पोलहरु बाढीले बगाएको तथा क्षति पु¥याएपछि सो गाउँपालिकाको ७ वटै वडाका करिब चारहजार घरधुरी विद्युतविहिन बनेका छन् । विद्युत प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पु¥याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको छ ।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युतविहिन बनेको छ । आरुघाट गाउँपालिका वडा नं ५ शान्तिबजार क्षेत्रका ५० घरधुरी बाढीले बगाएपछि त्यहाँका बासिन्दा घरबासविहिन तथा विद्युत सेवा विहिन बनेका छन् । विद्युतविहिन भएपछि करिब पाँच हजार घरधुरीका बासिन्दा सञ्चार सम्पर्कबाट पनि टाढा बनेका छन् । अहिले विपद्का बेला धेरैतिर सञ्चार सम्पर्क गर्नु जरुरी हुन्छ । यस्तो अवस्थामा उनीहरु समस्यामा छन् ।

कादुरीले निर्माण गरेको जगत भालुवन लघुजलविद्युत आयोजना क्षतिग्रस्त बनेको हो । त्यसैले कादुरीले तथा धार्चे र आरुघाटका घरहरुमा विद्युत प्राधिकरणले क्षतिग्रस्त भएका संरचनाको मर्मतसम्भार गरी यथासक्य छिटो सेवा सुचारु गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्