| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा कांग्रेसले पार्टी कार्यालमा पुस्तकालय संचालन गर्ने

नेपाली कांग्रेस गोरखाले तीनधारेस्थित पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । पार्टीको शनिवार बसेको जिल्ला कार्यसमिति बैठकले पुस्तकालय स्थापनाका लागि पार्टी जिल्ला सचिव किशोरजंग थापालाई संयोजकको जिम्मेवारी तोकेको छ ।

विपदमा ज्यान गुमाउनेहरुको परिवार, घाइते, अशक्त र असहायको सहयोगार्थ अक्षयकोष स्थापना गरिने पनि बैठकले निर्णय गरेको छ । ‘अक्षयकोष स्थापनाका लागि पार्टीका उपसभापति इमानसिं बस्नेतलाई संयोजक बनाइएको छ,’ पार्टी जिल्ला सचिव थापाले भने, ‘कार्यविधि तयार गर्ने जिम्मेवारी पार्टी जिल्ला सह–सचिव लुमनाथ लामिछानेलाई दिइएको छ ।’

बैठकले वडा स्तरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ । पार्टीका उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख धिरन थापाको नेतृत्वमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पार्टीले जनाएको छ । लामो समयदेखि निश्कृय रहेको गोरखा अमेरिका सम्पर्क समिति हालका लागि खारेज गरेर अमेरिका लगायत अन्य बिभिन्न देशमा रहेका गोरखावासीहरुलाई समेटेर सम्पर्क समितिहरु बनाउने निर्णय समेत भएको सचिव थापाले बताए ।

‘प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि र पार्टीका पदाधिकारी बीच संयुक्त बैठक गर्ने भनेका छौँ,’ उनले भने, ‘टिआरसी अनुसार द्वन्द्वपीडितको सूची पुनरावलोकन गरी अध्यावधिक गर्ने निर्णय पनि भएको छ ।’ उक्त कामका लागि पार्टीका महासमिति सदस्य मोहन पोखरेललाई संयोजक बनाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्