| सोमवार, कार्तिक २३, २०८३

हाम्रो आलोचना गर्नेहरू भ्रष्टाचारी हुन्, तिनलाई जेल कोच्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका छन् ।

शनिबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका हुने बताएका हुन् ।

‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं,’ लामिछानेले

भने । उनले त्यस्ता व्यक्तिहरूलाई आफूले जवाफ नदिने बताए । ‘आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु,’ उनले भने, ‘तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ । किनकी तिनलाई त जेल कोच्ने हो ।’

लामिछानेले वर्षौँदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पु¥याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए । त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ ।

‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,’ उनले भने ।
लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए ।

‘यी तिनै हात हुनेछन्, यो देशका भ्रष्टाचारीहरूलाई कारबाही गर्ने एकल निर्णय गरेर त्यो निर्णयमा हस्ताक्षर गर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्