| सोमवार, कार्तिक २३, २०८३

राइनासटार सिँचाइ आयोजनालाई दुस्प्रभाव नपार्ने गरी जलविद्युतको आयोजना सञ्चालन गर्न सांसदहरुको आग्रह

लम्जुङका सांसदहरुले राइनासटार सिँचाइ आयोजनालाई दुश्प्रभाव नपर्ने गरी जलविद्युत आयोजनाको काम गर्न चम्पावती हाइड्रोपावर कम्पनीलाई आग्रह गरेका छन् । लम्जुङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने आठजना सांसदहरुले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै किसानहरुलाई नकारात्मक असर नपर्ने गरी काम गर्न सो कम्पनीलाई आग्रह गरेका हुन् ।

३५ बर्षअघिदेखि सञ्चालित राइनासटार सिँचाइ आयोजना गण्डकी प्रदेशकै गौरवको आयोजनामा पर्ने भएकाले सो आयोजनाबाट प्रभावित किसानहरुको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनीको भनाइ छ ।
‘वडा नम्बर १ देखि ७ सम्मका ३५०० घर परिवारका १४ हजार जनसंख्या प्रत्यक्षरुपमा यस सिँचाइ आयोजनाबाट लाभान्वित भएका छन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सिंचाई आयोजनाको मुहान देखि चुहानसम्म हाल ८५० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । यस बृहत सिंचाई आयोजनालाई पूर्ण क्षमताका साथ सञ्चालन गरी कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्नु, कृषिमा आधुनिकीकरण गर्दै उद्यमशीलताको विकास गर्दै राष्ट्रिय पूँजीको विकासमा टेवा पुयाउनको लागि नया प्रविधिको प्रयोगमा कृषकहरुलाई आकर्षित गर्नु र जिल्लाको समग्र विकासमा कृषिक्षेत्रको योगदानलाई सबलीकरण गर्नु आजको दायित्व हो । तर यस जलविद्युत आयोजनाले राईनासटार सिंचाई आयोजनालाई अवरोध पु¥याउने प्रष्ट देखिन आएकोले स्थानीय कृषकहरुमा चिन्ता पैदा भएको पाइएको छ ।’

चम्पावती जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन र स्थानीयसंगको सम्झौता अनुसार राइनासटार सिंचाई आयोजनाको मुहानभन्दा दुईसय मिटर माथि पानीको प्राकृतिक बहाव हुनुपर्नेमा उक्त चेपे ए जलविद्युत आयोजनाले सिचाई आयोजनाको मुहानबाट करिब दुईसय मिटर तल पानी झर्ने गरी विद्युतगृह निर्माण गरिरहेको पाइएको विज्ञप्तिमा दावी गरिएको छ ।

एउटा आयोजना सञ्चालन गर्दैगर्दा अर्को आयोजना सञ्चालनमा बाधा पु¥याउने काम गर्नु नहुने विज्ञप्तिमा भनिएको छ । ‘जलउपयोग नीति २०४९ जलउपभोगको अग्राधिकार अनुसार दोस्रोमा सिंचाइ र चौथोमा जलविद्युत पर्ने भएकोले अग्राधिकारको नीति अनुसार सो सिंचाई आयोजनालाई वाधा पु¥याउने गरी काम नगर्न सम्बन्धित सबैको ध्यान पुगोस्’, विज्ञप्तिमा भनिएको छ, ‘सो बाधा नपुगोस भन्नका लागि स्थानीय कृषक तथा उपभोक्ताहरुमा आयोजनाप्रतिको अपनत्व ग्रहण गराउनेतर्फ सञ्चालकहरु लगायत सम्बन्धित सबै निकायको ध्यान पुगोस् भन्ने हाम्रो चाहना रहेको छ ।’

राइनासटार सिंचाई आयोजनाबाट हालसम्म लाभान्वित कृषकहरुको पुस्तौं देखिको माटोसंगको सम्बन्ध र गाढा माया यदि विद्रोहमा रुपान्तरण भयो भने त्यसले पार्ने दुरगामी प्रभाव अकल्पनीय हुनसक्छ भन्दै विज्ञप्तिमा जसको जीवन माटोसंग जोडिएको छ, जसको जीवन सिंचाईसंग जोडिएको छ, त्यही कृषकको खेत बाझो हुने तथा सिंचाईको आयोजना तहस नहस हुने खालको आयोजनाहरु निर्माण गरिनु नहुने विज्ञप्तिमा उल्लेख छ ।

‘तसर्थ राइनासटार सिंचाई आयोजनामा पानीको प्रकृतिक बहावमा अवरोध हुन नदिन एवं समयमै कृषकका जायज मागहरु सम्बोधन गर्न, आवश्यकता अनुसार आयोजनाको डिजाईन परिवर्तन गर्नु परेमा सो कार्यमा समेत तयार हुन, जनतालाई हतोत्साहित नवनाउन र केही उपभोक्ताहरुलाई मुद्धा लगाएको सुनुवाईमा आएको हुंदा यस्ता कुनै पनि कार्य नगर्न र सिघ्र वार्तामा बसी सुझबुझपूर्ण तरिकाले सहज वातावरण बनाउन सबैको ध्यान जान आवश्यक देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सो विज्ञप्तिमा प्रतिनिधिसभाका सांसद पृथ्वीसुव्वा गुरुङ र उर्मिला माझी, राष्ट्रियसभा सदस्य दीपा गुरुङ, गण्डकी प्रदेशसभा सदस्यहरु डाक्टर टकराज गुरुङ, भेषबहादुर पौडेल, पार्वती गुरुङ, टीकाकुमारी बस्याल र यशोदा रिमालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्