
करारका कर्मचारी निष्काशित नगर्न गाउँपालिका राष्ट्रिय महासंघको सुझाव
कतिपय गाउँपालिकाले एकमुष्ट वा समूहगत रुपमा कार्यरत करार कर्मचारीलाई निष्काशित गरिरहेका बेला गाउँपालिका राष्ट्रिय महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार एक प्रेस वक्तव्य जारी गर्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले करारका कर्मचारीलाई पूर्वाग्रहवश कर्मचारीलाई निश्कासन नगर्न सुझाव दिएको हो ।
चालु आर्थिक बर्ष २०७९÷०८० सुरु भएदेखि विभिन्न स्थानीय सरकारहरुले करारमा कार्यरत कर्मचारीहरुलाई समूहगत वा एकमुष्ट रुपमा म्याद थप नगर्ने(हटाउने) भनी प्रकाशित सूचना, समाचार यस महासंघको ध्यानाकर्षण भएको छ’, सो ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘करारका कर्मचारी व्यवस्थापन सम्बन्धामा महासंघको धारणा र सुझाव मनन गरी तत्काल निष्काशन नगर्न अनुरोध गरिन्छ ।’
महासंघले कर्मचारी हटाउनु भन्दा व्यवस्थापनका लागि अपनाउन सकिने विभिन्न चार वुँदे सुझाव दिएको छ । स्थानीय तह सुरु हुने बेला संघ सरकारले समयमै कर्मचारी नपठाएको, प्रदेश लोकसेवा आयोग समयमै गठन नभएको र कठिन परिस्थितिमा पालिकाले प्रक्रिया पु¥याएर करारमा कर्मचारी नियुक्त गरेको हुँदा दुखमा काम लागेका कर्मचारीलाई अपमानजनक हिसावले अहिले निकाल्न नहुने महासंघको सुझावमा उल्लेख छ ।
करारमा नियुक्त भएका कर्मचारील सन्तोषजनक रुपमा काम गरिरहेका वा नगरेका भनेर यकिन गरी विधिसम्मत ढंगले क्रमशः म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय लिन सकिने आधारको प्रयोग गर्न पनि महासंघको सुझाव छ ।
त्यस्तै केन्द्र स्तरको लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति भएपछि करारमा नियुक्त भएका कर्मचारीको पद स्वतः जाने हुँदा अहिले पूर्वाग्रह राखेर पक्षपातपूर्ण ढंगबाट कर्मचारी निष्काशन गर्न मनासिव नहुने महासंघको सुझाव छ ।
त्यस्तै करारमा नियुक्त भएका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरी विवेकपूर्ण ढंगले निर्णय गर्न देशभरका ४६० वटै गाउँपालिकालाई महासंघले आग्रह गरेको छ ।




