
वारपाक सुलिकोटका नयाँ जनप्रतिनिधि र वडा सचिवहरुलाई अभिमुखीकरण
गोरखाको वारपाक सुलिकोट गाऊँपालिकाले नवनिर्वाचित जनप्रतिनिधि र वडा सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
जेठ २५ र २६ गते चलेको अभिमुखीकरणमा जनप्रतिनिधि र सचिवहरुलाई पालिकाको नियमित काम र त्यसलाई थप प्रभावकारी कसरी बनाउने भन्नेबारे जानकारी गराइएको गाऊँपालिका ले जनाएको छ ।
अभिमुखीकरणमा खरीद तथा आर्थिक गतिविधिबारे कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, न्यायिक समितिको काम र योजनाहरुको अनुगमनबारे उपाध्यक्ष सनमाया गुरुङ र ब्यवस्थापन प्रणाली र प्रशासनका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जानकारी दिए ।
अभिमुखीकरणको पहिलो दिन सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, रोजगार, पशु सेवा, विपद् ब्यवस्थापन, शिक्षा, उद्यम विकास र आर्थिक प्रशासन सम्बन्धमा सम्बन्धित शाखा प्रमुखहरुले प्रस्तुती गरेका पालिकाका इन्जिनियर अभिनव गौतमले बताए ।
कार्यक्रमको समापन गर्दै गाऊँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले पालिकाको कामलाई ब्यवस्थित र पारदर्शी बनाउन अभिमुखीकरणले सघाउने बताए । गाऊँ कार्यपालिका को निर्णय अनुसार यो कार्यक्रम गरिएको उनले जानकारी दिए ।
सुशासन र पारदर्शीता कायम गर्दै काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे । वारपाक सुलिकोट गाऊँपालिकाले हरेक आर्थिक वर्ष उपभोक्ता समितिहरुका लागि पनि अभि मुखीकरण कार्यक्रम गर्दै आएको छ ।




