
चुनाव सकिनासाथ बजेटको चटारोमा जनप्रतिनिधि
संघीय सरकारले संसदमा आर्थिक वर्ष २०७९÷८० का लागि वार्षिक बजेट प्रस्तुत गरेपछि स्थानीय तहहरू पनि बजेट निर्माणको चटारोमा परेका छन् ।
निर्वाचित भएर कार्यभार सम्हालिसक्दा जनप्रतिनिधिहरूलाई आगामी आर्थिक वर्षको बजेट बनाउने बाध्यता छ । स्थानीय तहले असार १० गतेसम्ममा नगरसभामा बजेट पेस गरिसक्नुपर्छ ।
स्थानीय तहले बजेट बनाएर पेस गर्न बढीमा २५ दिन समय पाएका छन् । बजेट तयार गर्न नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्छ। छोटो समयमै बजेटका कार्यक्रम तय गर्नुपर्ने छ, बजेटलाई अन्तिम रूप दिनुपर्ने छ ।
दोहोरिएर निर्वाचित भएका पदाधिकारीलाई बजेट निर्माण गर्न अवश्य केही सजिलो हुनेछ तर नयाँ जनप्रतिनिधिहरू पद सम्हालेर कामको प्रक्रिया बुझिनसक्दै बजेट बनाउन लाग्नु परेको छ ।
यसपालि मुख्य पदमा दोहोरिएका जनप्रतिनिधि १९ प्रतिशत छन्, ८१ प्रतिशत नयाँ हुन् । निर्वाचित भएको महिना दिन पनि नपुग्दै बजेट पेस गरिसक्नुपर्ने बाध्यात्मक अवस्थाले समय अपुग हुने धेरैको भनाइ छ।




