
सम्बोता लिपि प्रचलनमा ल्याउने चुमनुब्रीका अध्यक्षको घोषणा
भर्खरै सम्पन्न निर्वाचनबाट चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामा चयन भएका छन् । लामो समयदेखि समाजसेवा गर्दै आएका लामाले आफ्नो कार्यकालमा पालिकालाई नयाँ ढंगले अघि बढाउने योजना बनाएका छन् ।
चीन सरकारले लामो समयदेखि नाकाबन्दी गर्दा उत्तरी सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको हुँदा नाका खुलाउन कुटनीतिक माध्यमबाट पहल गर्ने नवनिर्वाचित पालिका अध्यक्ष लामाको प्राथमिकतामा छ ।
चुमनुब्री गाउँपालिका दक्षिणी बजारबाट टाढा पर्ने हुँदा नाका खुलेपछि तिब्बती बजारबाट आयात, निर्यात बढाउन पहल गर्ने योजना उनको प्राथमिकतामा छ । साथै बेनिघाट, आरुघाट, लार्केको उत्तर दक्षिण लोकमार्गलाई रुइला र ङुइलातर्फबाट तिब्बती बजारसम्म विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकता दिने उनको लक्ष्य छ ।
‘पुर्खादेखि नै तिब्बती व्यापारीसित नूनदेखि सुनसम्मको व्यापार, लडिबुटी ब्यापार गर्दै आएको हो’, लामा भन्छन्, ‘जनजीविकासित जोडिएको परस्परको व्यापार, व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।’
त्यस्तै पालिकाको लेटरहेडमा तिब्बती (सम्बोता) लिपिलाई समेत अंकित गर्ने उनले बताए । ‘गाउँसभाबाट पालिका र वडाको लेटरहेडमा हाम्रो प्राचीन सम्बोता लिपि चलाउने निर्णय गर्छौँ’, उनी भन्छन्, ‘काठमाडौँमा रञ्जना लिपि चलाउने गरेका छन् । शेर्पाहरुले पनि सम्बोता लिपि चलाएका छन् । हामी पनि हाम्रो धर्म, संस्कृतिसित जोडिएको सम्बोता लिपि चलाउने निर्णय गर्छोँ ।’ कला, भाषा, संस्कृतिको विकास गर्न आफ्नो लिपि चाहिने हुँदा कक्षा पाँचसम्म सम्बोता लिपिको पठनपाठन गर्ने निर्णय गर्ने उनले बताए ।
‘गुम्बा व्यवस्थापन तथा विकास समितिले पाँच कक्षासम्मको पाठ्यपुस्तक पनि सम्बोता लिपिमा तयार गरेको छ’, उनले भने, ‘अब हाम्रो पालिकाका विद्यालयहरुमा सम्बोता लिपिमा पठनपाठन गर्नेछौँ ।’ चुम उपत्यकामा प्रतिपादित स्याक्या ऐन गाउँसभाबाट पारित गरी पालिकाभरि लागु गर्ने, सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टलाई पनि स्याक्या ऐनसित तालमेल गरी कार्यान्वयन गर्न लगाउने उनले जनाए ।
साथै यस क्षेत्रको जैविक विविधता संरक्षण गर्ने पनि उनले बताए ।
चुमनुब्रीमा एउटा माध्यमिक तहको र ११ वटा प्राथमिक तहका विद्यालय छन् । वडा नं. ३ बाहेकका अन्य छ वटै वडामा तिब्बती भाषा र सम्बोता लिपि प्रचलनमा छ ।
उनले फिलिममा रहेको पालिकाकै एक मात्र माध्यमिक तहको विद्यालय अहिलेसम्म पनि अस्थायी रहेकाले स्थायी स्वीकृतिका लागि पहल गर्ने र त्यहाँ कक्षा १२ सम्म सञ्चालनका लागि पहल गर्ने जनाएका छन् । चुमनुब्रीमा अथाह प्राचीन सम्पदा रहेकाले गुम्बा, माने, गुफा जस्ता सम्पदाहरु पुरातत्व विभागको मापदण्ड अनुसार पुरानै शैलिमा पुनर्निमाण, संरक्षण र संवद्र्धनमा जोड दिने पनि जनाएका छन् ।
आफ्नो पालिका हिमाली क्षेत्रमा पर्ने भएकाले जलवायु परिवर्तनका कारण संकट आउन नदिने वातावरण प्रदुषणमुक्त पालिका बनाउन लागि पर्ने लामाको योजना छ । ‘चुमनुब्री प्रदुषण नियन्त्रण समिति गठन गरी पालिकाको प्रदुष नियन्त्रण गर्ने मेरो मुख्य एजेण्डा छ’, उनी भन्छन्, ‘सोलुको नाम्चेबजार जस्तो बनाउन सीसा निषेधित गर्ने, वन जंगल जोगाउने, स्वच्छ वातावरण बनाउने, वृक्षा रोपण गर्ने, रक्सी तथा बियरका बोत्तल नियन्त्रण गर्ने, जैविक विविधताको दीगो संरक्षण गर्ने मेरो लक्ष्य छ ।
विश्वको आठौँ अग्लो मनास्लु हिमालका कारण पालिकाको पर्यटन विकासको प्रचुर सम्भाव्यतालाई अध्ययन गरेर पर्यटन बोर्ड, टान तथा, टेलिभिजनहरुसित सम्पर्क सम्बन्ध गरेर प्रचार प्रसार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
सल्लेरीबाट आँगासस्र्यूँ हुदै लोक्पासम्म र रुपिनाला पासबाट दूधपोखरीसम्मको पर्यटन गन्तव्यको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको पनि नवनिर्वाचित अध्यक्ष लामाले बताए । गाउँगाउँमा पर्यटन मार्ग निर्माण गरी कल्छुमान ताल, सेराङ गुम्बा, वीरेन्द्रताल, पुंगेन गुम्बा, हिनाङ गुम्बा, चुमभ्यालीलगायतका क्षेत्रमा पर्यटन विकास गर्ने उनले जनाए । बिगत कार्यकालमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण नभएकाले, फिलिमस्थित कृषि तथा भेटरीनरीको नाममा रहेको चार रोपनी जग्गामा प्रशासकीय भवन निर्माण गर्ने, यदि जग्गाप्राप्ति प्रक्रिया झञ्झटिलो भएमा जग्गा खरिद गरेर भए पनि अघि बढ्ने उनले बताए ।
घट्टेखोला हुँदै पाङसिङसम्म मोटरबाटोको टूयाक खुलेकाले त्यहाँबाट पालिकाको केन्द्र(फिलिम) जोड्न मोटरेबल पुल निर्माणका लागि पहल गर्ने उनको प्राथमिकताका कार्यक्रममा छ ।
चुमनुब्रीका कतिपय गाउँबस्तीमा मोबाइल टावर तथा इन्टरनेट सेवाले काम नगर्ने र काम गरेको ठाउँमा पनि प्रभावकारी काम नभएको हुँदा मोबाइल र इन्टरनेट सेवा विस्तार र क्षमतावृद्धि गर्न माग गर्ने उनले बताए ।
विकास साझेदार विभिन्न संघसंस्थाहरुसित समन्वय गरी काम गर्ने, जटिबुटी प्रशोधन केन्द्र बनाउने, भावी पुस्तालाई मध्यनजर गरी रोजगारमुलक र सीपमुलक कार्यक्रम गर्ने, युवा पलायनको जोखिम न्यूनिकरण गर्ने,. सामागाउँ र ल्होबासीका लागि लालपूर्जा उपलब्ध गराउन पहल गर्ने कार्यक्रम पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
साथै यी सबै बिषयबस्तु समेटी हरेक बर्ष ‘चुमनुब्री गाउँपालिका दर्शन’ भन्ने पुस्तक प्रकाशित गर्ने, संवृद्ध चुमनुब्री, नमूना चुमनुब्री बनाउन पाँच बर्षे गुरुयोजना बनाएर काम गर्ने लामाले बताए ।




