| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय तहको निर्वाचन : एक मतदाता बराबर आयोगको ४५९ रुपैयाँ खर्च

प्रत्येक पाँच वर्षको अवधिमा हुने निर्वाचनमा राज्यको ढुकुटीबाट करोडमा होइन, अर्बमा खर्च हुने गर्छ । निर्वाचन आयोगले ३० वैशाखमा सम्पन्न स्थानीय चुनाव गर्न सरकारबाट आठ अर्ब १४ करोड रुपैयाँ पाएको थियो । स्वीकृत सबै रकम सकियो भने प्रतिमतदाता चार सय ५९ रुपैयाँ ०१ पैसा खर्च हुने देखिन्छ । यद्यपि, खर्चको अन्तिम विवरण आइसकेको छैन ।

आयोगले यो पटक गरेको खर्च ०७४ को स्थानीय तह निर्वाचनमा भएको खर्चभन्दा १८ प्रतिशत अर्थात् एक अर्ब २४ करोड ३३ लाख २३ हजार ६ सय ४६ रुपैयाँले धेरै हो । ०७४ मा ६ अर्ब ८९ करोड ६६ लाख ७६ हजार तीन सय ५४ रुपैयाँ खर्च भएको थियो ।

अघिल्लो निर्वाचनको भन्दा बजेटको आकार ठूलो भए पनि प्रतिमतदाता खर्च भने यो निर्वाचनमा केही कम देखिन्छ । विनियोजित सबै रकम खर्च हुँदा पनि प्रतिमतदाता ४५९ रुपैयाँ ०१ पैसा पर्न आउँछ । ०७४ को स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९० रुपैयाँ ०८ पैसा खर्च भएको थियो, जुन अहिलेको भन्दा ६।७६ प्रतिशतले बढी हो । ०७४ को निर्वाचनमा एक करोड ४० लाख ७२ हजार चार सय २४ मतदाता थिए । ३० वैशाखमा हुने निर्वाचनका लागि मुलुकभर एक करोड ७७ लाख ३३ हजार सात सय ३२ मतदाता छन् ।

‘बजेटका आधारमा हेर्दा अघिल्लोपटक भन्दा धेरै विनियोजन भएको छ । तर, प्रतिमतदाताका आधारमा ०७४ को भन्दा सस्तो हुने देखिन्छ, किनभने मतदाता बढेका छन्,’ निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, ‘अहिले महँगी बढेको छ । डलरको मूल्य पनि बढेको छ । यो आधारमा हेर्दा बजेट विनियोजन नै पनि धेरै होइन ।’ आजको नयाँपत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्