
‘बुद्धले नेपाल–भारतलाई एकसूत्रमा जोड्नुभयो’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धका सन्देशलाई विश्वभर फैलाउन सक्ने हो भने यसले दुनियाँलाई मार्गदर्शन गर्ने बताएका छन्। बुद्धले दिएका सन्देशहरू उपदेश मात्रै नभई परीक्षण गरी आत्मसात गरेर बाडिँएका ज्ञान भएको उनले बताए। ‘बुद्ध भनेको बोध हो। बुद्ध भनेको सोध हो। संस्कार हो,’ मोदीले भने।
२५६६ औं बुद्ध जयन्तीका अवसरमा एक दिने भ्रमणका लागि सोमबार लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदीले बुद्धले जीवन र ज्ञान एकैसाथ सिकाएर मानवलाई पूर्ण गराएको बताए। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउन योगदान पुर्याएको बताए। यसले भारतीय पर्यटक संख्या वृद्धिमा उल्लेख्य विकास हुने उनले विश्वास गरे। ‘लुम्बिनीलाई बुद्ध धर्म तथा दर्शनको विश्वव्यापी केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रतिबद्धता हो। यस पवित्र उद्देश्य हासिल गर्न सबैको सहकार्य र ऐक्यबद्धताको हामी कदर गर्छाैं,’ उनले भने।
मोदीले नेपाली भाषामा सम्बोधन सुरु गरेका थिए, ‘बुद्ध जयन्तीको पावन अवसरमा यहाँहरू सबैलाई लुम्बिनीको पवित्र भूमिमा बुद्ध जयन्तीको धेरै–धेरै शुभकामना दिन चाहन्छु।’ उनले बुद्धसँगै राम र सीताले पनि नेपाल र भारतलाई जोडेको उल्लेख गरे। ‘भारतका रामबिना पनि नेपालको सीताको सम्बन्ध अधुरो रहन्छ,’ उनले भने। नेपाली भाषामै मोदीले भने, ‘नेपाल आउँदा मलाई राजनीतिकभन्दा पनि छुट्टै अध्यात्मिक अनुभूति हुन्छ।’
बुद्धकै कारण नेपाल र भारतबीच साझा आस्था र प्रेम रहेको भन्दै यो पुँजीलाई दुनियाभर बौद्ध सन्देशका रूपमा फैलाउनुपर्ने बताए। नेपाल र भारतको मित्रता सम्पूर्ण मानवताको हितका लागि रहेको भन्दै बौद्ध संस्कृतिले दुवै मुलुकलाई एक सूत्रमा जोडेको उनको भनाइ थियो। ‘बुद्धले दुवै देशलाई एकै सूत्रमा जोड्नुभएकाले एक परिवारको सदस्य बनाएको छ,’ उनले भने।
बुद्धले त्यागबाट नै सफलता प्राप्त गरेको भन्दै यो सबैका लागि अनुशरणीय विषय भएको मोदीको भनाइ थियो। अनेक संस्कृतिले भारत र नेपाल जोडिएको प्रसंग उल्लेख गर्दै उनले वैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्म, बोधगयामा बोधी, सारनाथमा शिक्षा र कुशिनगरमा महापरिनिर्वाण भएको भन्दै यसले दुई देशको सीमाभन्दा माथि रहेर जोड्ने काम गरेको बताए। बुद्ध सर्किटसहित अन्य सबै क्षेत्रको विकासमा नेपाल सरकारलाई सघाउन भारत सरकार तत्पर रहेको उनको भनाइ थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयसँग भारतीय संस्कृतिक परिषद्को सहकार्यले शिक्षाको विकासमा पनि सहकार्य रहेको पुष्टि हुने उनले बताए। 
लुम्बिनीस्थित मायादेवी परिसरमा रहेको बोधीवृक्षमा जल अर्पण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, साथमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु देउवा । तस्बिर सौजन्य : चन्द्र पाठक
‘नेपाल–भारत मिलेर काम गर्ने धेरै अवसर छन्,’ उनले भने, ‘भारत र नेपालको सम्बन्ध हिमाल जस्तै अटल र पुरानो छ।’ नेपाल र भारत काँधमा काँध मिलाएर काम गर्न पाएकोमा आफू सन्तुुष्ट रहेको उनले सुनाए। त्यसअघि बोलेका प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा आफूहरूले दुई देशको सम्बन्ध मजबुद बनाउन फलदायी छलफल गरिएको देउवाले जानकारी गराए। सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा सहयोगलाई अझ दरिलो बनाउनुका साथै बुद्ध जीवनसँग सम्बन्धी महत्वपूर्ण स्थानहरूलाई एक आपसमा जोड्ने बुद्ध सर्किटको विकास गर्न आफूहरू प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए। ‘यसले विश्वभरका बौद्ध धर्मालम्बीहरूलाई नेपाल र भारतमा रहेका भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थलहरूको भ्रमणमा आउन उत्प्रेरित गर्नेछ,’ उनले भने।
भर्खर सकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै लुम्बिनीमा भारत र सम्पूर्ण विश्वबाट अझ ठूलो संख्यामा पर्यटक र तिर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको देउवाले बताए। नेपालका आर्थिक विकासका लागि भारतले पुर्याएको सहयोगप्रति प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई आभार प्रकट गरे। नेपालले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझै उचाइमा पुर्याउन चाहेको स्पष्ट पारे। बुद्ध जयन्ती कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय प्रधानमन्त्रीको भ्रमण लुम्बिनीको प्रवद्र्धनमा ठूलो उपलब्धि भएको बताए। सांस्कृतिक, भौगोलिक सीमामा जोडिएका नेपाल र भारत पर्यटनमार्फत आर्थिक विकासमा एकचित्त भएर लाग्नेमा उनले विश्वास गरे।
मोदीले लुम्बिनीमा के के गरे ?
- बिहान साढे १० बजे लुम्बिनीमा अवतरण
- मायादेवी मन्दिरमा आधा घण्टा पूजा
- मायादेवी परिसरमा रहेको बोधीवृक्षमा जल अर्पण
- बौद्घ बिहारको संयुत्ताm रूपमा शिलान्यास
- सांस्कृतिक, शैक्षिक एवं प्राविधिक विषयमा सहकार्यका लागि पाँचवटा सम्झौतापत्रमा हस्ताक्षर
- विद्युत् आयोजना निर्माणको विषयमा सम्झौता
- नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटवार्ता
- साढे ४ बजे कुशिनगर प्रस्थान
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भारतबाट सम्राटहरूको भ्रमणपछि पहिलो पटक लुम्बिनीमा उच्चस्तरीय भ्रमण भएको भन्दै हर्ष व्यक्त गरे। अशोक सम्राटले नै लुम्बिनी पहिचानको शिला राखेको स्मरण गर्दे बौद्ध स्थलहरूको विकासमा नेपाल र भारतबीच निरन्तर सहयोग आवश्यक रहेको भन्दै लुम्बिनी विकास कोषले त्यसमा काम गरिरहने बताए।
मायादेवीमा पूजाअर्चना
भारतीय बौद्ध सहर कुशिनगरबाट हेलिकप्टरमार्फत बिहान साढे १० बजे लुम्बिनी ओर्लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरमा आधा घण्टा बिताए। समकक्षी शेरबहादुर देउवासँगै मोदीले मायादेवी मन्दिरमा पूजाअर्जना गरेका थिए। मोदीले मायादेवी मन्दिरभित्र रहेका पुरातात्कि संरचनाका विषयमा चासो देखाएका थिए। मायदेवीभित्र भग्नावशेष र मार्करस्टोन छन्। हेलिप्याडमा प्रधानमन्त्री देउवाको स्वागतपछि मोदी ५ नम्बर गेट हुँदै मायादेवी पुगेका थिए। मायादेवी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा, प्रधानमन्त्री पत्नी डा. आरजु देउवा, संस्कृतिमन्त्री प्रेमबहादुर आले, विकास कोषका पदाधिकारीहरूको सहभागित थियो।
कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीको पुरातात्विक संरचनका विषयमा जानकारी गराएका थिए। मोदी र देउवाले मायादेवी परिसरमा रहेको बोधीवृक्षमा जल अर्पण गरेका थिए। सो बोधीवृक्ष मोदीले नै उपहार पठाइ भारतीय राजदूत रन्जित रेले रोपेका थिए।
बिहारको शिलान्यास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा भारतले निर्माण गर्न लागेको बौद्ध बिहारको संयुक्त रूपमा शिलान्यास गरेका छन्। भारतले करिब १ अर्बको लागतमा इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिष्ट कल्चर एन्ड हेरिटेज निर्माण गर्न लागेको हो। महायानी विहारहरू भएको क्षेत्रमा यो संस्कृति भवन निर्माण हुने भएको छ। 
भारतीय प्रधानमन्त्री मोदीले यो विहार निर्माणले नेपाल र भारतबीचको बौद्ध संस्कृति सम्बन्धमा अझै प्रगाढ सम्बन्ध ल्याउने विश्वास गरे। ‘नेपाल सरकारले उपलब्ध गराएको जमिनमा भारत सरकारले इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिष्ट कल्चर एन्ड हेरिटेज सेन्टर बनाउन लागेको छ, यसले दुई देशबीचका सम्बन्धलाई अझै प्रगाढ बनाउनेछ, उनले भने बुद्धजयन्ती समारोहमा बोल्दै भने।
विश्वविद्यालयहरूसँग सम्झौता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा सांस्कृतिक, शैक्षिक एवं प्राविधिक विषयमा सहकार्यका लागि पाँचवटा सम्झौतापत्रमा दुई देशकाबीच हस्ताक्षर भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आईसीसीआर) बीच सम्झौता भएको हो।
विश्वविद्यालयमा इन्डियन चियर स्थापना गर्ने गरी सहकार्य सम्झौता गरिएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए। सम्झौताअनुरूप भारतीय प्राध्यापक लुम्बिनी बौद्ध विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा उपस्थित भई अध्ययन अनुसन्धानमा सहकार्य गर्ने रहेको छ। सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले हस्ताक्षर गरेका छन्।
नेपाल आउँदा मलाई राजनीतिकभन्दा पनि छुट्टै अध्यात्मिक अनुभूति हुन्छ । नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
प्रधानमन्त्री मोदीको भ्रमणले बुद्धजन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन योगदान दिनेछ । शेरबहादुर देउवा, प्रधानमन्त्री
त्यस्तै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सेन्टर फर नेपाल एन्ड एसियन स्टडिजसँग सहकार्य सम्झौता भएको छ। काठमाडौं विश्वविद्यालयसँग नेपाल एन्ड इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मदरासबीच सम्झौता भएको छ। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। होटल पवन प्यालेसमा आयोजित समारोहमा दुबै देशका प्रधानमन्त्री र नेपाल तथा भारतका अन्य अधिकारीहरूको सहभागिता रहेको थियो। भारतीय प्रधानमन्त्रीले यी सम्झौताका विषयमा बोल्दै नेपाल र भारत काँधमा काँध मिलाएर काम गरिरहेको बताए। ‘विश्वविद्यालयसँग सम्झौता भएका छन्, यसले नेपाल र भारत साथमा रहेर काम गर्छन् भन्ने हो, उनले बुद्धजयन्तीको समारोहमा भने।
भारत र नेपालबीच विद्युत् आयोजना निर्माणको विषयमा सम्झौता भएको छ। संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
प्रधानमन्त्रीबीच भेटवार्ता
मायादेवी मन्दिरमा पूजाआजा र बिहारको संयुक्त शिलान्यास गरेका दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्तासमेत भएको छ। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीस्थित एक होटलमा औपचारिक भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा दुई मुलुकबीच रहँद आएको साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ क्षेत्रको खोजी गर्ने विषयमा छलफल भएको छ। भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई प्रधानमन्त्रीको भेट लगत्तै दुवै मुलुकका प्रतिनिधिमण्डबीच छलफल भएको छ।
मोदीको लुम्बिनीमा ६ घन्टा
भारतको कुशिनगरबाट साढे १० बजे लुम्बिनी ओर्लिएका नरेन्द्र मोदी लुम्बिनीबाट साढे ४ बजे कुशिनगरकै लागि प्रस्थान गरे। उनीसँगै भारतीय वायुसेनाका ४ वटा हेलिकप्टर एकसाथ लुम्बिनी अवतरण गरेका थिए। मोदी लुम्बिनी आउने भएपछि पाँचदिन यता लुम्बिनीको सुरक्षाव्यवस्था कडा पारिएको थियो। भारतीय सुरक्षाकर्मीहरू जहाजमार्फत भैरहवा विमानस्थलमा उपकरण लिएर आएका थिए। लुम्बिनीको एक होटलमा बसेर भारतीय सुरक्षाकर्मीले लुम्बिनीको सुरक्षा रेखदेख गरेको थियो।
- लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीले भने, ‘देउवालाई फेरि भेट्न उत्सुक छु’
- प्रधानमन्त्री देउवा लुम्बिनीमा
- प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन [फोटोफिचर]
- बुद्धको जन्मभूमिमा मोदी
- लुम्बिनी आइपुगे भारतीय प्रधानमन्त्री मोदी, देउवाले गरे स्वागत
- लुम्बिनी पुगेर मोदीले भने- बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु
- मायादेवीमा पूजापछि मोदीले गरे बिहारको शिलान्यास
- भारत र नेपालबीचको सम्बन्ध हिमालजस्तै अटल छ : नरेन्द्र मोदी
- भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान
मोदीको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागका प्रमुखहरू लुम्बिनी आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नै गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का र संस्कृति मन्त्री प्रेम आलेसहित लुम्बिनी आएका थिए।
मोदीको स्वागतका लागि लुम्बिनी विकास कोषका ५ नम्बर गेटमा नेपाली नागरिक र विद्यार्थीहरू नेपाल र भारतको झन्डा लिएर उभिएका थिए। मोदीले गाडीबाटै उनीहरूलाई हात हल्लाएर अभिवादन फर्काए। मोदी आउने बुद्ध जयन्तीको कार्यक्रममा संघीय चार मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, उद्योगी व्यापारीहरूको सहभागिता थियो। अन्तर्राष्ट्रिय पाहुना र भिक्षु भिक्षुणीहरू पनि कार्यक्रममा सहभागी रहेका थिए।
ध्यान केन्द्रको उद्घाटन
बुद्ध जयन्तीको मूल समारोह भएको ध्यान केन्द्रको सोमबार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए। सो उद्घाटनमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। बुद्धजयन्ती मनाउने क्रममा हरेक वर्ष वर्षाले साताएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ हजार क्षमताको हल निर्माण गर्ने योजना बनाउन विकास कोषलाई निर्देशन दिएका थिए। ०७४ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले यो सभाहलको शिलान्यास गरेका थिए।
गोपीकृष्ण ढुंगाना/लक्ष्मण पोखरेल/सलमान खान




