
गठबन्धनको गलफती कायमै, अझै पनि आशाको त्यान्द्रोमा दलहरु
मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ठूला राजनीतिक दलहरु कुनैले पनि मनोनयन दर्ता गरेनन् । स्वतन्त्रबाट केहीले उम्मेद्वारी दर्ता गरेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
गठबन्धनको गलफतीले कांग्रेस, माओवादी, जसपा र नेकपा एसले सबै पालिकामा उम्मेद्वार छनोट गर्न भ्याएनन् । गठबन्धनको दाउपेचमा नलागेको नेकपा एमालेले पनि आइतबार उम्मेद्वारी दर्ता गर्न भ्याएन ।
कांग्रेसले आइतबार बिहान पत्रकार सम्मेलन गरी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने घोषणा ग¥यो । शनिबार अबेरसम्म गठबन्धनको प्रयास गरेको कांग्रेसले गठबन्धनको गलफती छाडेर आइतबार दिनभर उम्मेद्वारी छनौटमा व्यस्त रह्यो । ‘गठबन्धनको सम्भावना समाप्त भयो । अब हामी सबै पालिका र सबै वडाका लागि उम्मेद्वारी छनौट गर्दैछौँ’, सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘तर वार्ता र सम्वादको ढोका भने खुल्लै छ ।’
केही पालिकाका प्रमुख, उपप्रमुख निश्चित भए पनि केहीको बाँकी रहेकाले आइतबार उम्मेद्वार छनौट गर्न नभ्याएको माओवादीका अकुर तिमिल्सिनाले जानकारी दिए । ‘मनोनयनका लागि सोमबार दिउसो समय लिएका छौँ’, उनले भने, ‘तालमेल र गठबन्धनको प्रयास पनि जारी नै छ ।’
गठबन्धनको सम्भावना टुटेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टले झिनो आशा भने जीवितै रहेको बताए । ‘गठबन्धन हुन्छ कि भन्ने ढिलोसम्म आशा थियो, तर हुन सकेन । त्यसैले सबै पालिकाको उम्मेद्वार छान्न पनि ढिला भयो । अब सोमबार एकबजे उम्मेद्वारी दर्ता गर्न जानेछौँ’, भट्टले भने, ‘गठबन्धनको अझै सम्भावना पूर्ण रुपमा समाप्त भने भएको छैन । हेर्दै जाऊँ, अझै के हुन्छ ।’
नेकपा एसका जिल्ला अध्यक्ष यादव बस्नेतले भने गठबन्धनको आशा जीवितै रहेको दाबी गरे । ‘गठबन्धन त अस्तव्यस्त र भताभुंग भएको छ’, उनले भने ‘तर म त एकदम आशावादी मान्छे हुँ । राजनीतिमा सबै सम्भावना खुल्ला छ ।’
तालमेलको झमेलामा नलागे पनि नेकपा एमालेले पनि मनोनयन दर्ता गर्न भ्याएन । ‘प्रदेश कमिटीको बैठक बस्ला र टुंग्याउला कि भन्ने आशामा छौँ । तर राती नौ बजेसम्म पनि बैठक सुरु भएको छैन,’ जिल्ला सचिव काजीराम रोकाले भने, ‘तालमेलको त न हिजो आशा थियो, न आज छ । तर अस्वभाविक ढंगले कतैबाट प्रस्ताव आयो भने त हुन्न भन्न सकिन्न । मनोनयन भइसकेपछि पनि कहीँ, कतैचाहिँ तालमेल हुनसक्छ ।’




