
गोरखा नगरपालिकामा जसपाको निर्वाचन परिचालन कमिटी गठन
स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले गोरखा नगरपालिकामा विभिन्न कमिटी गठन गरेको छ । शनिबार छेपेटारमा भएको पार्टीको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा विभिन्न कमिटी गठन गरिएको हो ।
आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै नारायण खत्रीको संयोजकत्व र ज्योति कोइरालाको सहसंयोजकत्वमा तीनसय ७५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टीका सचिव विपिनचन्द्र ढकालले बताए ।
रामभक्त खनालको संयोजकत्वमा ५१ सस्दयीय चुनाव प्रचारप्रसार समिति, कर्ण बहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय आर्थिक कमिटी गठन गरिएको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाका अध्यक्ष उपेन्द्र देवकोटाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य रमेश पोखरले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल, जिल्ला अध्यक्ष यानप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए ।




