
जनता समाजवादी पार्टी(जसपा) चुनावी कार्यक्रममा होमियो
गोरखाका राजनीतिक दलहरु आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गृहकार्यमा होमिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीले दिनहूँ बैठक बसी जिल्ला कार्यसमितिको बैठक बसी चुनावी रणनीति बनाउन थालेका हुन् ।
काङ्ग्रेसले पहिलो पटक सोमबार चुनावी बैठक सम्पन्न गरेको छ । एमालेले सोमबार र मंगलबार बैठक गरी चुनावी रणनीति बनाएको जनाएको छ । जसपाको जिल्ला कार्यसमितिको मंगलबार पूर्ण बैठक बसी निर्वाचन परिचालन समिति, प्रचार प्रसार समिति तथा आर्थिक परिचालन समिति गठन गरेको छ ।
मंगलबार सम्पन्न जसपा गोरखाको पूर्ण बैठकले जिल्ला परिषदका अध्यक्ष यानप्रसाद भट्टको संयोजकत्वमा १०५१ जना सम्मिलित निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सचिव विपिनचन्द्र ढकाल संयोजक रहेको पाँच सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
‘उपाध्यक्ष सुकदेव तामाङ संयोजक रहेको आर्थिक परिचालन समिति गठन गर्ने निर्णय भएको छ’, जिल्ला सचिव विपिनचन्द्र ढकालले भने, ‘अब जिल्लाका ११ वटै पालिका र वडास्तरको कमिटीमा पनि निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र आर्थिक परिचालन कमिटी बनाउने निर्णय भएको छ ।’
बैठकले वडाको उम्मेद्वारको निक्र्यौल पालिका कमिटीले गर्ने र पालिकाको उम्मेद्वार जिल्ला कमिटीले तोक्ने निर्णय पनि गरेको उनले बताए । चुनावी तालमेलको लागि आवश्यकता अनुसार छलपल गरी जिल्ला पाटीले वार्ता टोली निर्माण जनाएको छ ।




