| सोमवार, कार्तिक २३, २०८३

मंगोल नेशनल अर्गनाइजेशनको ३३ औँ स्थापना दिवस गोरखामा मनाइने

मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)को ३३ औँ स्थापना दिवश गोरखामा तीनवटा जिल्लाले संयुक्त रुपमा मनाउने भएको छ । आउँदो पुस १७ गते गोरखा सदरमुकाममा संयुक्त रुपमा स्थापना दिवश मनाउन लागिएको अर्गनाइजेशनले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यसअघि तनहूँ र लम्जुङमा संयुक्त रुपमा आयोजना गरिसकेकाले यसबर्ष गोरखामा संयुक्त रुपमा मनाउन लागिएको अर्गनाइजेशनका गोरखा जिल्ला अध्यक्ष गंगा राना मगरले जानकारी दिए । लिगलिगकोटका घले राजाको शीर छेदन गरी शाहवंशीय शासन स्थापना गरिएको हुँदा मूलबासी मंगोलको अभियान गोरखाबाटै वुलन्द गर्नुपर्ने आबश्यकता देखिकाले गोरखामा हुने कार्यक्रम महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।

जसका लागि सबै गाउँपालिकाको कमिटीको अगुवाइमा गाउँगाउँबाट सहभागीहरु कार्यक्रममा आउने मूल समारोहका संयोजक राना मगरले बताए । ‘संयुक्त रुपमा आयोजना गरिएको ३३ औँ स्थापना दिवसमा चार–पाँच हजार जना सहभागी हुने हाम्रो लक्ष्य छ’, उनले भने, ‘कार्यक्रम आयोजना गर्न कम्तिमा तीनलाख रुपैयाँ खर्च हुने पनि अनुमान गरिएको छ ।’

कार्यक्रममा अन्य कुनै पनि पार्टीका नेताहरुलाई आमन्त्रण नगर्ने अर्गनाइजेशनले जनाएको छ । ‘८० प्रतिशत मूलबासी मंगोललाई दास बनाउने अन्य दुश्मन पार्टीका नेताहरुलाई हामी कार्यक्रममा बोलाउँदैनौँ’, पत्रकार सम्मेलनमा सो अर्गनाइजेशन, लम्जुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङले भने, ‘हाम्रा दुश्मनहरुलाई हामी हाम्रो कार्यक्रममा अतिथि मान्न सक्दैनौँ । राष्ट्रिय स्तरका भनौदा मिडियाहरुलाई पनि हामी कार्यक्रममा बोलाउँदैनौँ, किनभने राष्टिूय कुनैपनि मिडियाले हाम्रा समाचार लेख्दैनन् । मूलबासी मंगोल पछाडि पर्नुका एक कारण राष्ट्रिय मिडिया पनि हुन् । हामी अन्य कार्यक्रममा पनि बाहुन क्षेत्री पत्रकारलाई निमन्त्रणा गर्दैनौँ । सत्यतथ्य समाचार बाहिर ल्याउन नसक्ने पत्रकार हामीलाई आवश्यक पनि छैन । हाम्रो जतिपनि अतिथिहरु हुनुहुन्छ, मंगोल नेशनल अर्गनाइजेशनसंग सम्बन्धित नै हुनुहुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथिको रुपमा मंगल नेशनल अर्गनाइजेशनका प्रवक्ता दिलिप धिमाललाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन गर्न मूल आयोजक समिति गठन गरिएको छ ।
स्थापना दिवशमार्फत मंगोलबासी मंगोलको वर्तमान पिडाहरुको उजागर गर्ने, आगामि कार्यदिशाको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्