| सोमवार, कार्तिक २३, २०८३

एमाले पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

नेकपा एमालेको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुले विभिन्न पदमा आफ्नो आकांक्षा सार्वजनिक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट पदाधिकारीमै पनि आकांक्षा राखेका नेताहरु देखिएका छन् । त्यसो त यसअघि नै गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङ पदाधिकारी छन् । नवौं अधिवेशनबाटै उनी सचिव निर्वाचित भएका हुन् ।

पृथ्वीसुब्बा १० औं महाधिवेशनमा महासचिवको उम्मेदवार हुने तयारीमा छन् । ‘सचिवहरुमध्ये सफल मध्येको हुँ,’ उनले भने, ‘त्योभन्दा माथिकै पदमा उठ्छु ।’ पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने, व्यावहारिक, वैचारिक, भावनात्मक, संगठनात्मक रुपले एकताबद्ध पार्टी बनाउन आफूले सक्ने उनको भनाइ छ । ‘महासचिव भनेको टिममा अध्यक्षको मुख्य मान्छे हो । अध्यक्षको सहमति भयो र मलाई अगाडि बढाउनुभयो भने म यो काम गर्न योग्य छु र एकदमै उत्साहित छु भनेर उहाँ (ओली) लाई भनेको छु,’ उनले भनेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका गण्डकी प्रदेश कमिटी संयोजक किरण गुरुङले फेरि सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । ‘सहमति भयो भने ठिकै छ, नभए उपाध्यक्षमा निर्वाचन लड्ने हो,’ उनले भने । नेपाल सरकारमा वन मन्त्री भइसकेका उनी गण्डकी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

गण्डकीका अर्का नेता खगराज अधिकारीले आफ्नो दाबी पदाधिकारीमै हुने यसअघि नै सार्वजनिक गरेका छन् । उनीनिकट स्रोत अधिकारीले सचिव बन्ने आकांक्षा राखेका छन् । नवौं महाधिवेशनमा अधिकारी केन्द्रीय सदस्यमा थोरै मतान्तरले मात्रै पराजित भएका थिए । एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेन गरी बहुपदीय विधान निर्माण गरेको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना हुने विधानको व्यवस्था छ ।

गण्डकीकै नेता पूर्वमन्त्री पद्मा अर्याल पनि पदाधिकारीमा दाबी गर्नेमध्येमा छिन् । १५ पदाधिकारीका लागि झण्डै दोब्बरको संख्यामा उम्मेदवार हुने देखिएको छ । एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत गरेको छ, तर आकांक्षी उत्तिकै धेरै देखिँदा निर्वाचनमै जाने सम्भावना छ । अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत बनाउने धेरैको कसरत रहे पनि भीम रावल र घनश्याम भुसालले उनीविरुद्ध उम्मेदवारी दिने सन्देश दिइसकेका छन् ।

गण्डकीबाट केन्द्रीय सदस्यको आकांक्षी नेता पनि थुप्रै छन् । पूर्व खेलकुद तथा युवा मन्त्री जगत विश्वकर्मा नवौं महाधिवेशनबाटै केन्द्रीय भइसकेका हुन् । उनले फेरि केन्द्रीय सदस्य दोहो¥याउन चाहेको उनीनिकट स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्