| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस अधिवेशनले गोरखा सदरमुकाममा चहलपलह बढ्यो, होटल खचाखच

१४ औँ महाधिवेशनको दौरानमा रहेको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ ।


पालिका र प्रदेश क्षेत्रको अधिवेशन सकेर मतदान र नेताहरु जिल्ला केन्द्रित भएका छन् । १६ गते क्षेत्रीय समिति चयन, महाधिवेशन प्रतिनिधि छनौट हुनेछ भने १८ गते जिल्ला अधिवेशन हुँदैछ ।


महाधिवेशन प्रतिनिधिमा दुईवटा क्षेत्रबाट ४८ जना चयन गर्नुपर्नेछ । आकांक्षी भने दोब्बरभन्दा धेरै छन् । दुई क्षेत्रको गरी करिब एक हजार सात सय क्षेत्रीय प्रतिनिधि मतदाता हुनेछन् । उनीहरु पनि अहिले सदरमुकाममा छन् ।


कांग्रेसका केन्द्रीय नेता, प्रतिनिधि नभएको शुभेच्छुकहरु, गाउँ स्तरका नेता कार्यकर्ता पनि सदरमुकाममा छन् । करीब दुई हजार जना कांग्रेसको अधिवेशनका लागि गोरखा सदरमुकाममा रहेको अनुमान नेता कार्यकर्ता गर्छन् ।


गोरखा सदरमुकामको होटलहरु खचाखच छन् । होटलमा कोठा पाउन मुस्किल भएपछि केही कार्यकर्ता तनहुँको आँबुखैरेनीमा पनि बसेका छन् भने केही आफन्तकहाँ बस्ने गरेका छन् ।

कोभिडका कारण थलिएको होटल र रेष्टुरेन्ट ब्यवशायमा अहिले सुधार देखिएको छ । नेता कार्यकर्ता भोट माग्नमा ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्