| सोमवार, कार्तिक २३, २०८३

एमालेद्वारा कार्यकर्ता प्रशिक्षण

नेकपा एमाले गोरखाले सोमवार गोरखा सदरमुकाममा बृहत कार्यकर्ता भेला एवं अभिमुखि करण कार्यक्रम गरेको छ । पार्टी विधिवत विभाजनपछि एमालेले पहिलोपल्ट जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो ।


पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटि सदस्य किरण गुरुङ, बैकल्पिक पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य रामशरण बस्नेतलगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।


कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले एकीकृत समाजवादी पार्टीको चर्को आलोचना गरे । गोरखाको बिभिन्न पालिकाबाट नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन गोरखा सदरमुकाम आएका एमालेका जिल्ला सचिव कृष्ण नेपालीले बताए ।

एमालेले सबै पालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । गोरखा नगरपालिका र धार्चे गाउँपालिका २ गते, पालुङटार नगरपालिकामा ३ गते, भिमसेन थापा गाउँपालिकामा ४ गते, गण्डकी गाउँपालिकामा ७ गते, आरुघाट गाउँपालिकामा ५ गते, अजिरकोट गाउँपालिकामा ९ र सिरानचोक गाउँपालिकामा १० गते भेला र बैठक गर्ने निर्णय भएको जिल्ला सचिव नेपालीले बताए ।

चुमनुब्री र बारपाक सुलिकोट गाउँपालिकाको भने मिति तय हुन बाँकी छ । उक्त भेलाले पालिकास्तरको कमिटिलाई पूर्णता दिनुका साथै वडाको भेला प्रशिक्षण तय गर्नेछ । कात्तिकको ६ र ९ गते वडा र गाउँ अधिवेशन रहेकाले पूर्ण तयारीका लागि पनि पालिका स्तरको बैठकले योजना बनाउने सचिव नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्