| आइतवार, कार्तिक २२, २०८३

तरुण दलले तोक्यो गोरखाका चारवटै क्षेत्रीय समितिमा संयोजक

नेपाल तरुण दलले गोरखाका चार वटै प्रदेश स्तरीय क्षेत्रीय समितिमा संयोजक तोकेको छ । शनिबार सम्पन्न तरुण दलको जिल्ला कार्यसमिति गोरखाको बैठकले जिल्लाका चारवटै प्रदेशस्तरीय क्षेत्रमा संयोजक तोकेको जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।

तरुण दलको बैठकले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क मा भरत रेग्मीलाई संयोजक चयन गरेको छ भने प्रदेश ख मा कुबीर पौडेललाई संयोजक को जिम्मेवारी दिएको छ । त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश क मा किरण आले र प्रदेश ख मा दिल बहादुर गुरुङलाई संयोजक तोकेको छ । यसअघिदेखि नै तरुण दलको जिल्ला कमिटीमा आवद्ध रही काम गर्दै आएका उनीहरुलाई प्रदेशको संयोजक तोकिएको अध्यक्ष गुरुङले बताए ।

त्यस्तै बैठकले एक महिना भित्र जिल्लाका ११ वटै स्थानीय तहका हरेक वडामा समेत तरुण दलको समिति निर्माण गर्ने गरी योजना अघि बढाएको जिल्ला सचिव चित्र भट्टले बताए । जिल्लाभर युवाहरुलाई तरुण दलमा आवद्ध गरी संगठनलाई थप मजबुत बनाउने र जनताका हरेक समस्यामा साथ दिने गरी जिल्ला कमिटि अघि बढेको सचिव भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्