| आइतवार, कार्तिक २२, २०८३

काङ्ग्रेस देशका लागि अपरिहार्य शक्ति बनिसक्योः नेता पाण्डे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा काङ्ग्रेस निर्विकल्प र अपरिहार्य शक्ति बनिसकेको बताएका छन् । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा आयोजित सभामा बोल्दै नेता पाण्डेले नेकपा नेतृत्वको झण्डै दुई तिहाइको सरकारको हविगत नेपाली जनताले परीक्षण गरिसकेकाले अब काङ्ग्रेस नै निर्विकल्प शक्तिको रुपमा नेपाली जनताले स्वीकारेको दाबी गरे ।

नेपाली कांग्रेसले पाँच बर्षका लागि विना बाधा व्यवधान सरकार चलाउन नेकपालाई साथ दिए पनि नेकपा आन्तिरिक द्वन्द्वले असफल बनेको भन्दै पाण्डेले अब फेरि पनि जनताले नेकपालाई विश्वास नगर्ने तर्क गरे । नेपाली कांग्रेस सिरानचोक ४ वडा कार्यसमितिका सभापति कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा नेता पाण्डे, नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतार, महासमिति सदस्य तथा गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडी, नेपाल महिला संघकी जिल्ला सभापति तथा प्रदेश सांसद मनकुमारी गुरुङ, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ, खेलकुद विभागका सदस्य सिपी पोखरेल, क्षेत्रीय सभापति गोविन्द गुरुङ, क्षेत्रीय सचिव दिनेश खनखवास, सल्लाहकार समितिका सदस्य गणेशकुमार श्रेष्ठ, शिक्षक संघका सो पालिकाका अध्यक्ष रामकाजी श्रेष्ठलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्